टोखा, भाद्र २/
थाइल्यान्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा चम्किलो सफलता हासिल गरेका खेलाडीहरुलाई आज टोखामा बाजागाजा सहित ऐतिहासिक वस्ती परिक्रमा गराएर सम्मान गरिएको छ।
इन्द्रायणी दापा खल र टोखा स्पोर्ट्स क्लबले संयुक्त रूपमा आयोजना गरेको नगर परिक्रमा विशेष र भावुक क्षण बनेको थियो। वस्तीभर गुञ्जिएको बाजागाजासँगै विजयको मुस्कान बोक्दै खेलाडीहरू नगर परिक्रमा गर्दा स्थानिय बासिन्दाले ताली र फूलमाला अर्पण गर्दै गौरवको अनुभूति साटेका थिए।
नेपालले यस च्याम्पियनसिपमा ५ स्वर्ण, ३ रजत र १० कांस्यसहित १८ पदक जितेको थियो। स्वर्ण पदक विजेतामा कुमार लवट, सुसन्ध्या खड्का, अबिन श्रेष्ठ, मुगा माया पाखरिन र रोनाशा थापा रहेका छन्।
रजत जित्नेमा अनिशा तामाङ, समीर भुजेल र भिक्सन गुरुङ,
कांस्य जित्नेमा सर्वोच्च लामा, संयोग खड्का, सरोज मुक्तान, आर्यन फेरि, आरुषि फेरि, स्वीटा पुजारी, आकृति गुरुङ, योजना गौली, आर्यन तामाङ र छोई डोल्मा तामाङ रहेका छन्।
कार्यक्रममा इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोलले लामो समयदेखि संस्कृतिको जगेर्नामा योगदान पुर्याउँदै आउनु भएका कृष्णलाल लवतका सुपुत्र र स्वर्ण विजेता कुमार लवटलाई नगर परिक्रमा गर्न पाउँदा खल परिवार गौरवान्वित भएको बताए।
त्यसैगरी टोखा स्पोर्ट्स क्लबका अध्यक्ष मनोज श्रेष्ठले “देशको नाम उज्यालो बनाएका खेलाडीहरूलाई टोखाको माटोमै स्वागत गर्न पाउँदा हाम्रो हर्ष अपार छ” भन्दै खेलाडीको मेहनत र समर्पणलाई उच्च सम्मान व्यक्त गरे।
मुख्य प्रशिक्षक सानु बाबु महर्जन, प्रशिक्षक गौरव राजक र प्रबन्धक साजन श्रेष्ठको नेतृत्वमा गएको नेपाली टोलीले आफ्नै खर्चमा सहभागिता जनाए पनि २७ राष्ट्रका दुई हजारभन्दा बढी खेलाडीबीच उत्कृष्ट प्रदर्शन गरेर पदक तालिकामा गर्विलो स्थान सुरक्षित गरेको हो।
स्वदेश फर्किँदा खेलाडीहरूको अनुहारमा थकाइभन्दा बढी विजयको उज्यालो मुस्कान देखिन्थ्यो र त्यो मुस्कानलाई आज टोखाले आफ्नो आँखा र हृदयभरि सजाएर सम्मान गरेको छ।



