• TOKHA LIVE

    • १ भाद्र २०८२, आईतवार १६:४०

    नयाँ किरण समूहको ४२औं वार्षिकोत्सवमा अन्तर विद्यालय वक्तृत्व प्रतियोगिता सम्पन्न

     

    टोखा श्रावण ३१/
    नयाँ किरण समूह (न्हुजः खलः) टोखाले आफ्नो ४२औं वार्षिकोत्सवको अवसरमा नगरव्यापी अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। ‘समृद्धिका लागि पर्यटन’ विषयमा आयोजित प्रतियोगिता शुक्रबार समूहको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको थियो।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पर्यटनलाई देशको समृद्धि र भविष्यसँग जोडेर आफ्ना विचार प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रस्तुतीका आधारमा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी अनुश्री मिश्र प्रथम, पब्लिक इङ्गलिस माध्यमिक विद्यालयका समीर दुलाल द्वितीय र फ्लोरोसेन्टकै श्रीना नेपाल तृतीय घोषित भएका छन्।

    विजेताहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

    समारोहमा प्रमुख अतिथि तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास जगाउने मात्र नभई भविष्यप्रतिको सकारात्मक दृष्टिकोण पनि विकास गर्ने बताए। उनले न्हुजः खललाई निरन्तर सामाजिक र शैक्षिक योगदानका लागि धन्यवादसमेत दिए।

    कार्यक्रम अध्यक्षता संस्थाका अध्यक्ष बिकास डंगोलले गरेका थिए भने सञ्चालन महासचिव सुविन्द्र श्रेष्ठले गरेका थिए। कार्यक्रममा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा सदस्य शान्ता राई, सहकारी अध्यक्ष राधेश्याम श्रेष्ठलगायत शिक्षक, विद्यार्थी र स्थानीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

    स्थापना दिवसको अवसरमा समूहले आगामी भदौ १ गते वृहत् रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै