• TOKHA LIVE

    • १ भाद्र २०८२, आईतवार १६:३१

    ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

     

    ललितपुर ३० श्रावण / ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती कायम भइरहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ ।
    ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा संचालन गर्ने गर्दछ । यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले सञ्चालन गरेको हो।

    विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलार्इ बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ। नृसिंहतिर फर्केर हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ। नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा ६ जोडी कन्याहरुको पनि सहभागीता रहने गर्दछ । जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ ।


    नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहंको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजा पाठ गर्नुका साथै बालबालिकाहरूलार्इ ढोगाउने चलन रहेको छ ।


    ललितपुरमा कार्तिक नाचको एक र अर्को उपालकं सायाःका गरी दुर्इ नृसिंहका रूप रहेका छन् । कार्तिक नाचका नृसिंहलाई उग्र रूपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावका नृसिंहको रूपमा लिने गरिन्छ ।
    नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको लिखित दस्ताबेज छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै