काठमाडौं, साउन २९ ।
ई–आर्ट्स नेपालको आयोजना र नेपाल आर्ट काउन्सिल, बबरमहलमा भएको ८औं संस्करणको ‘हिमालयन आर्ट फेस्टिवल २०२५’ यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। सप्ताहव्यापी यो कला महोत्सवको उद्घाटन ‘शार्क ट्याङ्क नेपाल’ का पाँच शार्क क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य र सौरभ ज्योतीले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई विशेष सम्मान दिइयो। साथै, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा स्थापना गरिएको ‘प्रशान्त स्कलरशिप अवार्ड २०२५’ यस वर्ष पनि प्रदान गरियो, जसअन्तर्गत फाइन आर्ट्स कलेज, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौं विश्वविद्यालयका कला विभागका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरियो। महोत्सवमा देशभरका १४० भन्दा बढी कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका थिए। कला प्रेमीहरूको भीडले महोत्सवलाई जीवन्त बनायो।
सन् २०१० मा स्थापना भएको ई–आर्ट्स नेपालले कलाकार, संग्राहक र कला रुचाउनेबीचको दूरी घटाउँदै नेपाली समकालीन कलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ। यसैको निरन्तरता स्वरूप सन् २०१७ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको ‘हिमालयन आर्ट फेस्टिवल’ नेपाली कलाको एउटा महत्वपूर्ण उत्सवका रूपमा स्थापित भइसकेको छ।

