– सुशान्त डंगोल
टोखा गणेशथानमा गथामुगको चह्रे हेर्दै गर्दा मनमा अनेक कुरा खेल्यो। परापूर्वकालदेखि चल्दै आएको गथामुग: जहाँ हाम्रा पूर्वजहरूले धर्तीलाई सम्मान गर्दै, वर्षको पहिलो चाडको रूपमा खेतीसँग जोडिएको संस्कृतिको थालनी गर्थे । त्यो अब बिस्तारै केवल ‘अनुष्ठान’ मा सिमित हुँदैछ।
हिजो मैले देखेँ धसिकथि, मञ्जाय, छ्वालिमा बेरेर “मुठाको सय रुपैयाँ” भन्दै बिक्री भइरहेको थियो। यो देख्दा मन एकछिन गह्रौं भयो। किनभने ती छ्वालिहरू जुन कहिले हामीले आफ्नै खेतको गहुँ, धान वा मकैबाट संकलन गर्थ्यौँ, आज किनमेलको वस्तु बनेका छन्।
यो परिवर्तन केवल गथामुगको परम्पराको रूपान्तरण होइन, यो हामीले कृषियोग्य जमिन गुमाउँदै गएको वास्तविकता हो। वडा स्तरमा भएको जग्गा वर्गीकरणको छलफलमा मैले कार्यक्रममा वडाध्यक्ष,वडा सदस्य , सचिव बिभिन्न बुद्धिजीवी, सुभचिन्तको सहभागीतामा भएको कार्यक्रममा आ-आफ्नो भनाई राख्ने क्रममा मेरो पालो आउदा मैले भनेका विचार आज आएर प्रत्यक्ष देखे। जुन बुढागत रूपमा प्रस्तुत गर्दैछु ।
साँच्चिकै हामीले खेतीपाती गर्ने जमिनलाई संरक्षण गरेनौँ भने, गथामुग: मात्र होइन, हाम्रा सम्पूर्ण चाडपर्वहरू, रीतिरिवाज र धर्तीमाथिको आस्था नै हराउँदै जान्छ।
१. जग्गाको वर्गीकरण भूगोल अनुसार हुनुपर्छ।
एउटै मापदण्डले सहरको घडेरी र पहाडको खेतीलाई समान ढंगले हेर्न मिल्दैन। खेतीपाती गर्ने जमिनलाई ‘कृषि पकेट क्षेत्र’ भनेर अलग पहिचान दिनुपर्छ।
२. कृषिजन्य जग्गाको पनि मूल्य र महत्त्व हुनुपर्छ।
जस्तो सहरको बाटो छेउको जग्गा भ्यालु हुने गर्छ, त्यस्तै गरि खेतीको जग्गाको पनि मूल्य निर्धारण हुनु पर्छ।
३. सिंचाइ कुलो र संरचनात्मक सहयोग आवश्यक छ।
खेती सम्भव हुने जमिनमा सिंचाइ, सिचाई कुलो, आधुनिक तरिका, बीउबिजनको पहुँच सहज गराउन सरकारको जिम्मेवारी हो।
४. अव्यवस्थित बासोबास रोक्नु पर्छ।
अहिले जसरी खेतबारी मासेर प्लटिङ हुँदैछ, त्यो रोकिएन भने हामी खाद्य असुरक्षा मात्र होइन, संस्कृतिकै असुरक्षा तर्फ अघि बढिरहेका छौँ।
गथामुग: संस्कृति मात्र होइन, चेतावनी पनि हो।
गथामुग चुलोको आगोमा छ्वालि बाल्नु केवल परम्परा होइन, त्यो हाम्रो उत्पादन र प्रकृतिसँगको सम्बन्ध हो। त्यो सम्बन्ध अब बजारको भरमा चल्न थालेको छ। खेतीपाती घट्दै जाँदा त्यो छ्वालि अब असन बजारबाट किनेर ल्याउनु पर्ने हुन्छ । जुन कहिल्यै हाम्रो संस्कृतिको मर्म होइन।
यदि हामीले कृषि जग्गालाई जोगाएनौँ भने, छ्वालि मात्र होइन, गथामुगसँग जोडिएका धसि, फकंचा, न्हाकं, च्वाँक, ग्वघाय, धुस्वाँ सबै संस्कृति केवल स्मृति भएर पुस्ता पुस्ता हराउँदै जान्छन्।
जग्गा वर्गीकरण अब केवल विकासको योजना होइन, संस्कृतिको रक्षा र संरक्षणको रणनीति हुनुपर्छ। हामीले खेती जोगाएनौँ भने, संस्कृतिले हामीलाई छोडेर जान थाल्छ।गथामुग: चह्रेले हामीलाई यत्ति मात्र सम्झाइरहेको छ ।
“जहाँ छ छ्वालि, त्यहीं बाँचिरहेछ हाम्रो पहिचान।”

