बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियन कुमार लवट भोलि टाेखामा सम्मानित हुँदै
काठमाडौं ८ कार्तिक। बंगलादेशमा सम्पन्न बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियन कुमार लवटलाई टाेखामा सम्मान सहित नगर परिक्रमा गरिने भएको छ। भोलि कार्तिक ९ गते बिहान ७ बजे नेपाललाई प्रथम बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप-२०२३ को उपाधि दिलाएका टाेखा नगरपालिका वडा ३ निवासी तेक्वान्दो खेलाडी कुमार लवटलाई सम्मान बाजागाजाका साथ नगर परिक्रमा गरिन लागेको आयोजक इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोलले बताए। श्री इन्द्रायणी दापा खल: टाेखाको आयोजनामा टाेखा नगरपालिका वडा ३ स्थित सरस्वती मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच लवटलाई सम्मानित गर्न लागेको हो।
टाेखाका युवा तेक्वान्दो खेलाडी कुमार लवटले प्रथम बंगाबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप-२०२३ को उपाधि नेपालले जिते पछि श्री इन्द्रायणी दापा खलका सदस्य लामो समयदेखि खलमा आबद्ध बाजागाजा गुरु कृष्णलाल लवटका कान्छो छोरा तेक्वान्दो खेलाडी कुमार लवटलाई हार्दिक बधाई तथा शुभकामना सहित नगर परिक्रमा समेत गरि सम्मानित गर्ने कार्तिक ६ गतेको खलको बैठकले निर्णय गरेको थियो ।
बंगलादेशमा सम्पन्न भएको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टुख्यः तेक्वान्दो डोजाङ टोखाका कुमार लवटले गोल्ड म्यादल सहित उत्कृष्ट खेलाडीको उपाधि समेत जितेका हुन । अक्टोवर १९ देखि २१ सम्म बंगलादेशको सभर, ढाकामा आयोजित प्रतियोगितामा नेपाल सहित आठ राष्ट्रले सहभागिता जनाएको उक्त प्रतियोगितामा लवटले १७-३५ उमेर समूह ६८ केजि तौलतर्फ क्योरूगी फाइटमा सो उपाधि हात पारेका हुन । त्यस्तै, संयोग खड्का क्योरुगीको अन्डर १० उमेर समूह ३० केजि तौल र अन्डर १२ ४० केजि तौल महिलातर्फ सुसन्ध्या खड्काले दोस्रो उपाधि जितेका छन ।