काठमाडौं ३ कार्तिक / भोलि कार्तिक ४ गते शनिबार टाेखा नगरपालिका वडा ३ को कार्यालयबाट संचालन हुने कृषि हाटबजार मेला आयोजना हुने भएको छ । टाेखा नगरपालिका वडा ३ को आयोजना तथा टाेखा सरस्वती हाट बजार व्यवस्थापन समितिको सहयोगमा उक्त मेला टाेखा नगरपालिका वडा ३ स्थित वडा कार्यालय प्राङ्गणमा आयोजना हुन लागेको हो। स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गरी स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ हाट बजार मेला संचालन गर्न लागिएको टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलले बताउनुभयो ।
टाेखा नगरपालिका वडा ३ ले यस अभियानमा सहयोग र समन्वय गर्न व्यवसायी , उपभोक्ता , नगरवासी , स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, एनजिओ/आईएनजिओ, समाजसेवीहरुमा जानकारीका लागि आज ऐतिहासिक टाेखा नगर परिक्रमा गर्दै वडाबासीहरुमा माइकिङ गरि सहभागिताको लागि अपिल गरेको छ । बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजारको अवधारणा ल्याएको पनि वडाले जनाएको छ । कृषि हाटबजार मेला भोलि कार्तिक ४ गते शनिबारदेखि टाेखा नगरपालिका वडा ३ स्थित वडा कार्यालय प्राङ्गणमा अब देखि प्रत्येक शनिबार बिहान ६ बजे देखि ९ बजे सम्म हाट बजार लाग्ने जानकारी दिए ।




