• TOKHA LIVE

    • १४ आश्विन २०८०, आईतवार ०३:१४

    टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

    काठमाडौँ, १४ असोज : टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो । टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । “हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उहाँले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा जोड दिनुभयो ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिनुभयो । टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ । आजदेखि सुरु भएको कर सप्ताहमा आज बिहान प्रभातफेरी गरिएको थियो । टाेखा नगरपालिकाको आयोजनामा आज टाेखा वडा ३ स्थित भुटखेलमा प्रथम कर सप्ताह सुरु भएको हो। कर सप्ताह अभियान यही असोज १४ गते देखि आगामी असोज २० गतेसम्म संचालन हुनेछ।  कर सप्ताहमा करसम्बन्धी लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो । कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गरिनेछ । टोखा नगरपालिकामा ११ वडा छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै