• TOKHA LIVE

    • ६ श्रावण २०८२, सोमबार २१:२२

    नेपालमा पहिलोपटक ‘एआई आचारसंहिता’ जारी

    काठमाडौं असार ६/
    नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ। अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गर्दै, एआईको प्रयोगमा स्पष्ट मार्गदर्शन दिने उद्देश्य राखेको हो।

    काठमाडौंमा आयोजित समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता सार्वजनिक गरे। उनले एआई प्रविधिको दुरुपयोग रोक्न र यसको सही दिशा निर्धारण गर्न आचारसंहिता आवश्यक रहेको स्पष्ट पारे। “एआईको प्रयोग अनलाइन टिभीमा तीव्र गतिमा बढिरहेको छ। यसलाई मर्यादित र उत्तरदायी बनाउने प्रयत्न स्वरूप यो आचारसंहिता ल्याइएको हो,” अध्यक्ष भण्डारीले भने।

    कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले यसलाई नेपालको पहिलो एआई आचारसंहिता भन्दै ऐतिहासिक कदमको रुपमा व्याख्या गरे। उनले भने, “अनलाइन टिभी पत्रकार संघले देखाएको बाटो अनुकरणीय छ। अब अन्य क्षेत्रहरूमा पनि यस्ता अभ्यासहरू अत्यावश्यक भइसकेका छन्।”

    संघले जारी गरेको आचारसंहिता प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ को मर्म र उद्देश्यलाई समेत समेटेर तयार पारिएको छ।
    मुख्य बुँदाहरू यस्ता छन्:

    • एआईको सहयोगमा तयार पारिएका सबै सामग्री अन्तिम परीक्षण, सम्पादन र स्वीकृतिसमेत मानव सम्पादकबाट गरिनेछ।

    • एआईले तयार पारेको सामग्रीमा स्पष्ट रूपमा “एआईद्वारा तयार” भनी उल्लेख गरिनेछ।

    • गोपनीयता, चरित्रहत्या, अश्लीलता वा झूटो जानकारी प्रवाह जस्ता विषयमा विशेष सतर्कता अपनाइनेछ।

    • अनलाइन टिभीकर्मीले एआई प्रयोग गर्दा प्रचलित कानुनको पालना अनिवार्य गर्नुपर्नेछ।

    संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार, संघमा आबद्ध सबै पत्रकारले यो आचारसंहिता पालना गर्नुपर्नेछ। संघ स्वयंले यसको अनुगमन गर्दै जाने जानकारी उनले दिए।

    सञ्चारकर्मीहरूलाई एआई प्रविधिको जिम्मेवार र मर्यादित प्रयोगतर्फ डोहोऱ्याउने प्रयासस्वरूप यो आचारसंहिता ऐतिहासिक पहलका रूपमा देखिएको छ।
    यसअघि, संघले २०७७ सालमा ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ पनि जारी गरिसकेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै