• TOKHA LIVE

    • १८ असार २०८०, सोमबार २०:३४

    टोखाका तीन ऐतिहासिक मन्दिरको पुनर्निर्माणका लागि डिपिअार निर्माणको प्रक्रिया सुरु

     

    टाेखालाइभ / असार १८, 

    काठमाडौं — सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिएको टोखा नगरको तीन पुराना मन्दिर—कोठु गणेश, नारायण मन्दिर र सङ्कटामाई मन्दिर—को पुनर्निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    टोखा–३ र २ स्थित यी सम्पदाहरूको प्राचीन मौलिकता जोगाउँदै पुनर्निर्माण गर्न आज डिपिअार (विस्तृत परियोजना प्रतिवेदन) का लागि पुरातत्त्व विभागको टोलीले नापजाँच सम्पन्न गरेको हो।

    पुरातत्त्व विभागकी आर्किटेक्ट इन्जिनियरहरू सुश्मा पाठक र आरती पोखरेलको नेतृत्वमा आएको टोलीले स्थानीय जनप्रतिनिधि र गुठी संस्थाका प्रतिनिधिहरूसँगै स्थलगत अवलोकन र नापजाँच गरे।
    यस अवसरमा टोखा–३ का वडा अध्यक्ष रमेश डंगोल, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवा: गुठी टोखाका अध्यक्ष रमेश नापित, सङ्कटामाइ गुठीका सदस्य कृष्ण महर्जन लगायतको उपस्थिति रहेको थियो।

    यी सबै प्रयासको केन्द्रबिन्दु बनेका छन् समाजसेवी तथा सम्पदा अभियन्ता देवराज डंगोल। उहाँको सतत पहलमा आज पुरातत्त्व विभागबाट टोली टोखा आइपुगेको हो।

    देवराज डंगोलकै सक्रियतामा यसअघि टोखास्थित सपनतीर्थ मन्दिर, चण्डेश्वरी महादेव मन्दिर, चण्डेश्वरी द्य: छें र परम्परागत पाटीहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ। अब यी तीनवटा सम्पदा पनि डिपिअारपछि मौलिक स्वरूपमै पुनःनिर्माण गरिने सपना देखिएको छ।

    सपनतीर्थ विकास समितिका अध्यक्षसमेत रहेका डंगोलले भने, “टोखाका हाम्रा मठमन्दिर, पाटीपौवा, संस्कार र परम्परा हाम्रो पहिचान हुन्। यसलाई संरक्षण गर्न सक्नु हाम्रो पुस्ताको जिम्मेवारी हो।”

    टोखाको मुटुमा रहेका यी सम्पदाहरू पुनर्जीवित हुँदा केवल ईँटामाटोको संरचना निर्माण हुनेछैन, यहाँका बासिन्दाको संस्कृति, श्रद्धा र सामूहिक स्मृतिहरू पुनः एकपटक बाँच्नेछन्।

     तस्बिरहरू: नापजाँचको क्रममा इन्जिनियर टोली र स्थानीय प्रतिनिधिहरू

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै