• TOKHA LIVE

    • ४ श्रावण २०८२, शनिबार १५:५४

    नेपाली मूर्तिकला क्षेत्रमा समर्पित हरीराम अधिकारी सम्मानित

     

    काठमाडौं, श्रावण ३ ।

    नेपाली मूर्तिकला क्षेत्रमा लामो समयदेखि समर्पित हुँदै आएका गुल्मीका मूर्तिकार हरीराम अधिकारीलाई सरकारले प्रादेशिक प्रतिभा पुरस्कार २०८१ प्रदान गरेको छ।

    ललितकलाको क्षेत्रलाई जीवनको साधना बनाउँदै आएका अधिकारीलाई लुम्बिनी प्रदेशतर्फको ललितकला विधा (मूर्तिकला) अन्तर्गत यो सम्मान दिइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा यो पुरस्कार प्रदान गरिएको हो।

    हरीराम अधिकारी गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, दर्लामचौरमा जन्मनुभएका हुन्। नेपाली संस्कृतिमा गहिरो जग राख्ने मूर्तिकलालाई अन्तर्राष्ट्रिय चिनारी दिने कलाकारका रूपमा उहाँ चिनिनुहुन्छ। दशकौंको कलासाधनालाई कदर गर्दै उहाँलाई राज्यद्वारा सम्मान गरिएको हो।नेपाली कलाक्षेत्रको सम्मान र प्रेरणाको स्रोत बनेका हरीराम अधिकारीजस्ता स्रष्टाहरूले मुलुकको सांस्कृतिक पहिचानलाई अझ उज्यालो बनाइरहेका छन्।

    यसै कार्यक्रममा विभिन्न प्रदेशका अन्य प्रतिभाहरूलाई पनि सम्मान गरिएको छ।

    कोशी: हिम्मत बहादुर लिम्बु नेम्वाङ्ग – मूर्तिकला

    मधेश: गीता कुमारी ठाकुर – मिथिला लोककला

    बागमती: प्रमिला बज्राचार्य – चित्रकला

    गण्डकी: शशिध्वज तुलाचन – परम्परागत थाङ्का

    कर्णाली: थेकक्षेक तामाङ – चित्रकला/हस्तकला

    सुदूरपश्चिम: मित्थु चौधरी – चित्रकला/मूर्तिकला

    त्यस्तै, कार्यक्रममा महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा पुरस्कार, गोपालप्रसाद रिमाल पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार, योगमाया पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार समेत विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै