काठमाडौं, श्रावण १ ।
नेपालका दुई प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पे अब एउटै छातामुनि आएका छन्। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा दुबै कम्पनीको औपचारिक मर्जरको घोषणा गर्दै ‘आईएमई खल्ती लिमिटेड’ नामक नयाँ कम्पनीको यात्रा सुरु भएको छ।
नेपाल राष्ट्र बैंकका उप-गभर्नर बमबहादुर मिश्रले नयाँ कम्पनीको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे। नयाँ सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने विनय खड्का प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्त भएका छन्।
अबदेखि ‘खल्ती’ नामकै ब्रान्डबाट वालेट सेवा सञ्चालन हुनेछ। तर, ब्रान्डको रूप भने नयाँ छ – बैजनी पहिचानलाई हटाएर रातो रङलाई प्राथमिकता दिइएको छ। लोगोको दायाँपट्टि आइएमईको झल्को दिने चङ्गा राखिएको छ, जसले अबको सहकार्यको उडानलाई संकेत गर्छ।
कार्यक्रममा नयाँ लोगो अनावरण गर्नुका साथै एप र वेबसाइटमा थपिएका प्रविधि र सुविधाहरूबारे पनि जानकारी दिइयो।
राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भएसँगै आईएमई खल्ती लिमिटेड आजदेखि एकीकृत कारोबारमा प्रवेश गरेको हो।
यो मर्जर नेपालको डिजिटल भुक्तानी सेवाको क्षेत्रमा एक ऐतिहासिक मोडको रूपमा हेरिएको छ ।

