• TOKHA LIVE

    • २९ असार २०८२, आईतवार १६:५१

    उपप्रमुख डंगोलद्वारा काठमाडौं महानगरको आगामी वर्षको लागि २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

     

    काठमाडौं, २९ असार
    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्।

    उहाँले बजेट भाषणका क्रममा जानकारी दिँदै भन्नुभयो, “महानगरको आन्तरिक आम्दानी, बैंक मौज्दात तथा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान मिलाएर यो बजेट तयार गरिएको हो।”
    सञ्चित कोषमार्फत रु. २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार र अन्य वाह्य स्रोतबाट ६५ करोड खर्च हुने अनुमान गरिएको छ।

    प्राथमिकतामा पूर्वाधार, शिक्षा र सम्पदा संरक्षण

    डंगोलले बजेट भाषणमा महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताइन्। कुल बजेटको ५१% अर्थात १२ अर्ब ८० करोड पूर्वाधारमा लगानी हुने छ।
    शिक्षा, स्वास्थ्य, रोजगारीशहरी सुधार कार्यक्रमहरूलाई पनि जोड दिइएको छ।

    उहाँका अनुसार,

    • सामाजिक विकासमा २०% (५ अर्ब २ करोड)
    • शासन तथा अन्तरसम्बन्ध क्षेत्रमा १२% (३ अर्ब १ करोड)
    • प्रशासनिक सञ्चालनमा १४% (३ अर्ब ५१ करोड) विनियोजन गरिएको छ।

    बजेटमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षामा सुधार, एक वडा, एक उद्यम कार्यक्रम, शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार, ध्वनि प्रदूषण नियन्त्रण, र सार्वजनिक यातायात व्यवस्थित गर्ने कार्यक्रमहरूलाई समेत समेटिएको छ।
    यस्तै, मठमन्दिर, पोखरी, हिटी, बहाल लगायत काठमाडौंका धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा संरक्षणमा पर्याप्त बजेट छुट्याइएको डंगोलले बताइन्।

    उहाँले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्न केही ढिलाइ भएको स्वीकार गर्दै नगरवासीसँग क्षमा याचना गरिन्। “विगतमा केही मनमुटाव, असहमति भए पनि आज हामी फेरि एकजुट भएर यो सभामा उपस्थित छौं,” भन्दै सबै जनप्रतिनिधि, कर्मचारी र सहयोगी निकायप्रति आभार प्रकट गरिन्।

    “हामी जनप्रतिनिधि जनताको अपेक्षा पुरा गर्न आएका हौं,” उपप्रमुख डंगोलले भावुक हुँदै भनिन्, “काठमाडौंको मुहार फेर्न संघ, प्रदेश र सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्नेछौं।”
    उहाँले आगामी वर्षभित्र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता पनि जनाइन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै