• TOKHA LIVE

    • २९ असार २०८२, आईतवार ११:०७

    ४५ सेकेन्डमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, लोकतन्त्र कि स्टन्ट?

     

    काठमाडौं असार २९/ साढे ६ महिनापछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले सबैलाई चकित तुल्यायो। कारण – बैठकको अवधि! जम्मा ४५ सेकेन्ड। हो, तपाईंले ठीकै पढ्नुभयो – ४५ सेकेन्डमै कार्यपालिका बैठक सकिएको हो।

    नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखे – “बैठक हो कि स्टन्ट? सायद नेपालको इतिहासमै यति छोटो बैठक पहिलोपटक भयो।”

    महानगरको आन्तरिक कलहबीच छलफलको अपेक्षा गरिएको बैठक एक प्रकारको ‘फास्टफुड मिटिङ’ बनेर टुंगिएको हो। बैठकमा अरू सदस्यलाई मुख खोल्ने त परै जाओस्, सास फेर्ने समय समेत नदिइएको टिप्पणीहरु आएका छन्।

    जनताले युवा नेतृत्वसँग खुलेर बहस, सहकार्य र समन्वयको आशा गरेका थिए। तर, त्यही आशा ४५ सेकेन्डमै ओझेलमा पर्‍यो।

    काठमाडौंका मेयर बालेन शाह, जसलाई केही समयअगाडि सम्म ‘भविष्यको प्रधानमन्त्री’ भनेर चर्चा गरिएको थियो, उनीमाथि अब ‘डिक्टेटरशिप ट्रेलर’ देखाएको आरोप लाग्न थालेको छ। बस्नेतको प्रश्न थियो – “एक व्यक्ति केन्द्रित ‘फास्ट मिटिङ मोडेल’ लोकतन्त्र हो त? कि सेलिब्रिटी प्रवृत्तिको घमण्ड?”

    अब प्रश्न उब्जिएको छ – यस्तो अभ्यासले काठमाडौं महानगर कता जाँदैछ? के यो लोकतन्त्रको व्यवहारिक नमूना हो? कि नेतृत्वको अहंकार?

    सार्वजनिक सेवा, जनप्रतिनिधिको जवाफदेहिता र समावेशी निर्णय प्रक्रियाको आशामा बसेका आमनागरिकका लागि यो घटना केवल निराशा मात्रै होइन, चेतावनी पनि हो।
    अब सबैको नजर छ – काठमाडौंको नेतृत्व कुन दिशामा अगाडि बढ्छ?

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै