नविना श्रेष्ठ
असार २९,२०८२।
आकस्मिक अवस्थाका धेरै नागरिकले शैय्या अभावका कारण भोग्नुपरेको कठिनाई कम गर्न त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको ग्रीन एरियाको क्षमता दोब्बर पारेर १५ शैय्याको बनाइएको छ ।
आधुनिक प्रविधिको एमआरआईका लागि बिरामी बाहिर जानुपर्ने अवस्था कम गर्न मन्त्रालयको सहयोगमा थ्री टेस्ला एमआरआई सेवा समेत शुरुवात भएको छ ।
धेरै नागरिकको भरोसा रहेका संघीय अस्पतालहरुको क्षमता विस्तार र आधुनिकीकरणमा हाम्रो निरन्तर साथ र सहयोग रहिरहने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए।
त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड तथा आधुनिक थ्री टेस्ला एमआरआई सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले उद्घाटन गर्नु भएको हाे।
बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परे पछि शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याइएको हाे। यसले एउटै बेडमा दुई जनासम्मको उपचार गर्नुपर्ने समस्यामा क्षमता दोब्बर भए पछि अझ धेरै नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० करोड सहयोगमा थपिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवाले अब बिरामीलाई अस्पताल बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । माननीय मन्त्री प्रदिप पौडेलले आम नागरिकको भरोसा रहेको अस्पतालको वृत्ति विकासमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए।

