• TOKHA LIVE

      TOKHA LIVE

    • २९ असार २०८२, आईतवार १०:२१

    ललितपुरको ऐतिहासिक नृसिंह जात्राका लागि मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न

    ललितपुर २७ असार /

    ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारी लगायत राखेर प्रतिकात्मक रुपमा निमन्त्रणा दिने गरिन्छ।


    हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन नृसिंह जात्रा संचालन हुने गर्दछ भने यसवर्ष साउन २९ गते यो जात्रा संचालन हुँदैछ । यस वर्षको जात्रा संचालन गर्न जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ। यसवर्षको जात्राको लागि गएको बिहिबार गुरु पूर्णिमाका दिन उक्त कार्य भएको हो।
    विसं १७४१ मा राजा भएका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उहाँका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ। २०४६ सालसम्म उहाँका लागि भनेर प्रत्येक बिहान तमाखु लिएर जाने गरिन्थ्यो। दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकोमा एउटा चरा पनि छ। उहाँले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ। सोही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा मल्ल राजालाई पाटन दरवारको तुसाहिटीमा रहेको शिलाको शैय्या अर्थात खातमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ। हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ।
    मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरू लगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ। विहिबार नै जात्रासँग सम्वन्धित गुथियारहरु शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि साउन २९ गते हुने जात्रा अवलोकनका लागि निमन्त्रणा दिएको थियो।
    ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा संचालन गर्ने गर्दछ। यो जात्रा नेपाल सम्वत् ७५१‚ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै