काठमाडौं, २६ असार ।
गुरु पूर्णिमाको पावन अवसरमा ज्यापु संस्कृति विकास कोषले काठमाडौं महानगरका परम्परागत ६३ टोलगुथीमा योगदान पुर्याउँदै आउनुभएका बाजा, गीत, संगीत र सांस्कृतिक परम्पराका गुरुहरूलाई आज विशेष सम्मान गरेको छ।
उक्त सम्मान समारोहमा प्रमुख अतिथिको रूपमा कामपाका उपमेयर सुनिता डंगोलको गरिमामय उपस्थित रहेको थियो। उपमेयर डंगोलले सम्मानित गुरुहरूलाई भादगाउँले टोपी, सगुन, तथा नगदसहित सम्मान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै डंगोलले भने, “ज्यापु समुदायको बाजागाजा, संगीत, भाषा, संस्कृति, पहिरन र जीवनशैली हाम्रो मौलिक पहिचान हुन्। यिनलाई पुस्तौँसम्म जीवित राख्दै आउनुभएका गुरुहरू प्रति म गहिरो श्रद्धा र सम्मान व्यक्त गर्न चाहन्छु।” उहाँले गुथिहरूभित्रका गुरुहरू कुनै विश्वविद्यालयभन्दा कम नभएको उल्लेख गर्दै, व्यावहारिक ज्ञानलाई सैद्धान्तिक धरातलमा जोड्ने प्रयासमा आफू सधैं प्रयत्नशील रहेको बताउनुभयो।

कोषका अध्यक्ष मंगलकृष्ण सिंहले वर्षौं देखिको गुरूहरूको अमूल्य योगदानकै कारण २२ औं मंका गुरुपूजासम्म आइपुग्न सम्भव भएको उल्लेख गर्दै, “गुरुहरूलाई सम्मान गर्न पाउनु हाम्रो लागि सौभाग्यको विषय हो,” भन्नुभयो।
कोषका उपाध्यक्ष सन्त महर्जनले ज्यापु समुदायलाई केवल एक जाति नभई नेपालको जीवन्त सांस्कृतिक सम्पदा बोकेको धरोहरसमेत रहेको बताए।

यसै कार्यक्रममार्फत २२ औं राष्ट्रिय ज्यापु दिवसको संयोजन जिम्मेवारी नरः त्वाः खलः (हाँडिगाउँ) लाई हस्तान्तरण गरियो। थथु त्वाः, दथु त्वाः र कोता त्वाःलाई पाःब्व (पालो) दिँदै नगद २ लाखको चेकसमेत प्रदान गरियो। गत वर्ष यो जिम्मेवारी वतु त्वाः खलःले सम्हालेको थियो।
कार्यक्रममा नरः त्वाःका नायः कृष्ण बहादुर डंगोलले हाँडिगाउँ क्षेत्रका परम्परागत सांस्कृतिक प्रसंगहरू स्मरण गर्दै, “यो वर्ष आयोजक बन्न पाउनु हाम्रो लागि गौरवको कुरा हो,” भन्नुभयो।
कार्यक्रममा विशेष आकर्षणका रूपमा हाँडिगाउँको प्रसिद्ध जात्रा नर नारायण जात्राका तीनमध्ये एक ‘खट’ को जीवन्त झाँकी समेत प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकहरूलाई सांस्कृतिक भावनाले भरिएको क्षण समेत प्रदान गरेको थियो ।



