काठमाडौं, असार २४ /
चिकित्सकहरू देशव्यापी रूपमा आन्दोलित भएका छन्। नेपाल चिकित्सक सङ्घको अगुवाइमा सोमबारदेखि देशभरका अस्पतालहरूमा आकस्मिक र सघन उपचारबाहेकका सबै सेवा बन्द गरिएको छ।
सरकारी होस् या निजी, क्लिनिकदेखि अस्पतालसम्म सबैले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बिरामीलाई मात्र नभई स्वयम् चिकित्सा क्षेत्रमा गहिरो असन्तुष्टि प्रकट गरेका छन्।चिकित्सकहरूले आफ्नो व्यवसायलाई उपभोक्ता संरक्षण ऐनअन्तर्गत राखिएकोमा आपत्ति जनाउँदै ऐनको दफा २ मा संशोधनको माग गरिरहेका छन्। उनीहरूको भनाइ छ – चिकित्सा पेशा कुनै साधारण सेवा होइन, जीवनसँग खेल्ने जिम्मेवारी हो।
“न्यायको नाममा अन्याय भइहालेपछि बोल्नैपर्छ,”
नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारी भन्छन्, “चिकित्सकको गल्ती नियमन गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा नै सीमित हुनुपर्छ। अदालतको हस्तक्षेपले चिकित्सकीय अभ्यासमै असहजता ल्याएको छ।”
हालसालै उपभोक्ता अदालतले केही अस्पताललाई लापरबाही भन्दै क्षतिपूर्ति तिराउने आदेश दिएपछि चिकित्सकहरूले गहिरो असन्तुष्टि जनाएका छन्। उनीहरूको तर्क छ — यस किसिमको फैसला कार्यान्वयनमा आए चिकित्सकहरूले भविष्यमा आफूलाई सुरक्षित राख्न अत्यधिक परीक्षण गर्नुपर्नेछ, जसले बिरामीलाई आर्थिक बोझ पार्नेछ र उपचार प्रक्रिया नै जटिल बनाउनेछ।आज आन्दोलनको स्वर अझ चर्किएको छ। उपत्यकाभित्रका चिकित्सकहरू माइतीघर मण्डलामा भेला भएका छन् भने उपत्यकाबाहिरका स्वास्थ्यकर्मीहरू आ–आफ्नो क्षेत्रको प्रदर्शनस्थलमा सहभागी भएका छन्।
“हामी बिरामीलाई जोगाउन पनि आन्दोलनमा छौं,”
एक चिकित्सकले माइक समाउँदै भने — “यो ऐनले हामीलाई होइन, बिरामीको उपचार नै महँगो बनाउँछ।”
चिकित्सकहरूको यो कदमले स्वास्थ्यक्षेत्रमा गम्भीर सन्देश दिएको छ , उपचार मात्र हैन, चिकित्सकको सुरक्षालाई पनि सम्मान गर्नुपर्छ।

