काठमाडौं, असार २४, २०८२/
लोककवि राजभाइ जकःमिले रचना गर्नुभएको स्मृति-काव्य “पुर्खाया पलाः ख्वाँय्” (अर्थात् – पुर्खाको पदचाप) को औपचारिक विमोचन नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाहलमा एक विशेष समारोहबीच सम्पन्न भएको छ।
नेवार जातिको मौलिक आन्दोलन, पहिचान र भाषा-संस्कृतिको समर्पित यात्रालाई काव्यमा उनेर ल्याइएको यस ग्रन्थलाई बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रकाशनमा ल्याइएको हो। विमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा कोष तथा व्याकरण विभाग, नेवाः देय् दबू र जातीय परिषद्को संयुक्त पहलमा आयोजना गरिएको थियो।
मुख्य अतिथिको रूपमा कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शैलेन्द्र मान बज्राचार्यले दीप प्रज्वलन गर्दै पुस्तक विमोचन गर्नुभयो।
कार्यक्रममा वरिष्ठ कवि योगेन्द्र प्रधानले “पुर्खाया पलाः ख्वाँय्” लाई नेपालभाषाको अद्वितीय काव्य ठहर गर्दै यसले नेवार जातिको इतिहास, बलिदान र जागरणलाई समेटेको बताउनुभयो। भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले लेखक जकःमिले धेरै मिहिनेत, साधना र समाजप्रतिको प्रतिबद्धता बोकेर यो कृति सृजना गर्नुभएको उल्लेख गर्दै, प्रदेश सरकारकै तर्फबाट यस काव्यको प्रकाशन हुनु नेवार समुदाय र सम्पूर्ण नेपाली साहित्यको गौरव भएको बताउनुभयो।
साहित्यकार हितकर वीरसिंह कंसाकारले भने– “यस काव्यले नयाँ पुस्तालाई आफ्ना पुर्खाको इतिहास र पहिचान बुझ्ने बाटो देखाएको छ।” कार्यक्रममा नेवाः देय् दबूका पूर्व अध्यक्ष नरेश ताम्राकारले लोककवि जकःमिलाई दिइएको उपाधि जातीय आन्दोलनमा उहाँको कवितामार्फत योगदानको उच्च कदर स्वरूप प्रदान गरिएको स्मरण गर्नुभयो।
मुख्य अतिथि बज्राचार्यले पनि जकःमिको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “यो पुस्तक पुर्खाको कथा मात्रै होइन, नयाँ पुस्ताको ज्ञानको ढोका पनि हो।”कार्यक्रममा देवः दबूका अध्यक्ष पवित्र बज्राचार्यले “उपयुक्त व्यक्तिलाई उपयुक्त सम्मान दिइनु गौरवको विषय हो” भन्दै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन जातीय परिषद्का सचिव मचाराजा महर्जनले गर्नुभएको थियो भने माली समाजका अध्यक्ष अमर नारायण मालीले स्वागत मन्तव्य दिनुभएको थियो।समारोहमा लोककवि जकःमिले गाउनुभएको र शान्तराज शाक्यले निर्देशन गर्नुभएको सत्यमोहन जोशीसम्बन्धी स्मृति भिडियो गीत पनि प्रस्तुत गरिएको थियो।
७१ जना महान नेवार पुर्खाको काव्यिक जीवनी समेटिएको यो पुस्तक नेपालभाषा साहित्यमा एक ऐतिहासिक कोशेढुंगाका रूपमा चिनिएको छ।
फाेटाे/न्युज नेपा

