टोखा, २१ असार २०८२
टोखा नगरपालिकाले सम्पूर्ण ११ वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। मंगलबार नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा ‘टोखा पूर्ण खोपयुक्त नगरपालिका’ घोषणा गरिएको हो।

यस घोषणासँगै अब टोखा नगर क्षेत्रमा बसोबास गर्ने कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित छैनन् र भविष्यमा पनि वञ्चित नहुने प्रतिबद्धता जनाइएको छ। खोप सुनिश्चिततासँगै टोखालाई एक स्वस्थ, सुरक्षित र बालमैत्री नगर बनाउने दिशामा यो कदम एक महत्वपूर्ण उपलब्धि बनेको छ।

घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो। यस्तै, विशिष्ट अतिथिमा जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारी, टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर स्वास्थ्य शाखा प्रमुख रनलाल कुलाल, खोप समन्वय समिति सदस्य सचिवलगायत सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्था प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै, नगरमा कुनै पनि बालबालिकालाई खोप तथा स्वास्थ्य सेवाबाट वञ्चित नगरिने स्पष्ट प्रतिबद्धता जनाइयो।कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले यो उपलब्धि सम्भव बनाउन अहोरात्र खटिएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा जनस्वास्थ्य कार्यालय काठमाडौँप्रति विशेष धन्यवाद व्यक्त गरे।
उनले आगामी दिनमा पनि नगरपालिकाबाट सेवा पाउने हक सबै नागरिकमा सुनिश्चत गरिने विश्वास दिलाए। यो घोषणा टोखा नगरपालिकाको स्वस्थ समाज निर्माणप्रतिको एक महत्वपूर्ण पाइला हो, जहाँ प्रत्येक बालबालिका सुरक्षा र स्वास्थ्यको पूर्ण संरक्षणमा रहनेछ।

