• TOKHA LIVE

    • १८ असार २०८२, बुधबार १०:०५

    टोखामा स्काउट मास्टरहरूको ‘क्षमता अभिवृद्धि तालिम’ सम्पन्न

    टोखा, काठमाडौं ,असार १७, २०८२

    टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत स्काउट मास्टरहरूको क्षमता अभिवृद्धिका लागि आयोजित विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

    टोखा नगरपालिका र स्थानीय स्काउट कार्यालय टोखाको सहकार्यमा तथा बालप्रेमी क्लबको आयोजनामा भएको उक्त तालिम असार १३ र १४ गते टोखा नगरपालिका–२ को वडा कार्यालय सभाहलमा सम्पन्न भएको हो। तालिममा ५० भन्दा बढी स्काउट मास्टरहरूको सक्रिय सहभागिता रहेको थियो।

    टोखा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित दुईदिने तालिमको उद्देश्य स्काउट मास्टरहरूको नेतृत्व, कार्यकुशलता र समन्वय क्षमतामा अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन्।

    तालिम समापन समारोहमा बालप्रेमी क्लबका वरिष्ठ उपाध्यक्ष जय कुमार श्रेष्ठको सभापतित्व रहेको थियो भने टोखा नगर प्रमुख तथा स्थानीय स्काउट परिषदका संरक्षक प्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भए।

    सो अवसरमा विशिष्ट अतिथिका रूपमा नगर प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम, शिक्षा शाखाका सातौँ अधिकृत खगेन्द्रसिंह धामी, तुख्य: क्लब अध्यक्ष तथा टोखा नगर स्काउटका प्रमुख आयुक्त नविन श्रेष्ठ, वडा नं. २ का वडा सदस्य अमर डंगोल लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, तालिम प्रशिक्षकहरू, स्काउट ट्रुपका लिडर तथा सदस्यहरू सहभागी थिए।

    तालिममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक धर्मभक्त मल्ल, सहायक राष्ट्रिय प्रशिक्षक नरेश अवाले तथा एडभान्स स्काउटरहरू विशाल डंगोल, दीपक श्रेष्ठ, उषा महर्जन, अनिता श्रेष्ठ, उर्मिला डंगोलले प्रशिक्षण दिएका थिए।

    टोखा नगरभित्रका मनोहर, तिलिङ्गतार, झोर मँहाकाल, धापासी, बौडेश्वर स्काउट ट्रुपका स्काउट मास्टरहरू, रोभर/रेन्जरहरू र तुख्य: स्काउट क्रयुका लिडरहरूको समेत उल्लेखनीय सहभागिता रहेको तालिमले स्थानीय स्तरमा स्काउट आन्दोलनलाई थप सशक्त बनाउने विश्वास आयोजकको छ।

    समापन समारोहमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिँदै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    मतको मूल्य र राष्ट्रको भविष्य

    छुटाउनुभयो कि? सबै