टोखा, असार १२ । जनताको जीवनसँग गाँसिएका समस्या र संवेदनालाई महसुस गर्दै टोखा नगरपालिकाले ऐतिहासिक सामाजिक सुरक्षा कार्यक्रमहरू ल्याएको छ। नगरप्रमुख प्रकाश अधिकारीको नेतृत्वमा पारित यी योजनाहरू जन्मदेखि मृत्युसम्म नागरिकसँग राज्यको साथ रहोस् भन्ने सोचमा आधारित छन्।
नगरपालिकाले अबदेखि टोखामा जन्मिने हरेक नवजात शिशुको नाममा रु ५,००० को सुरुआती बचत दिने घोषणा गरेको छ। यो रकम बालबालिकाको भविष्य निर्माण र शिक्षाको पहिलो पाइला होस् भन्ने हेतुले दिइनेछ। मेयर अधिकारी भन्छन्, “शिशुको भविष्य बलियो बनाउन जन्मेको दिनदेखि नै राज्यले हात थाम्नुपर्छ।”निरोगी, सशक्त र सुरक्षित टोखा बनाउने हाम्रो लक्ष्य हो,”
त्यस्तै, कसैको मृत्यु भएमा परिवारलाई क्रिया खर्चस्वरूप रु १०,००० प्रदान गरिने छ। यो सहयोगले दुःखको बेला केही राहत दिने अपेक्षा गरिएको छ। “मानव जीवनको अन्तिम क्षणमा पनि राज्यको साथ हुनुपर्छ,” मेयर अधिकारीले बताए।
गम्भीर रोगबाट पीडित नगरवासीका लागि समेत राहतको व्यवस्था गरिएको छ। शहिद गंगालाल अस्पतालमा मुटु रोगको सर्जरी गराउने नगरवासीलाई रु ५०,००० सम्म, क्यान्सर वा मृगौला रोगीलाई रु ३५,००० सम्म को आर्थिक सहायता प्रदान गरिनेछ।
साथै, ‘मेयर दीर्घायु कार्यक्रम’लाई अझ प्रभावकारी बनाउँदै सबै नगरवासीका लागि नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभियान र सेवा प्रवाहमा सुधार गरिने बताइएको छ।
टोखा नगरपालिकाले यो योजना केवल कागजमा सीमित नरही व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ। जन्मिएको बच्चाको भविष्यदेखि वृद्धावस्थासम्म साथ दिने यी कार्यक्रमहरूले स्थानीय सरकारप्रतिको विश्वास अझ बलियो बनाउने नगरवासीहरूको विश्वास छ।

