नविना श्रेष्ठ
काठमाडौं, असार १२
नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” नेपाल पुलिस क्लब, प्रदर्शनी मार्गमा विशेष कार्यक्रमसहित मनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले युवाहरुलाई राष्ट्र, समाज र परिवारप्रति उत्तरदायी बन्न प्रेरित गर्दै लागू औषधजस्ता घातक लतबाट जोगिन आग्रह गर्नुभयो। उहाँले नेपाल सरकार युवाको स्वास्थ्य र भविष्य सुरक्षाका लागि प्रतिबद्ध रहेको भन्दै यस क्षेत्रमा सुधार ल्याउन संस्थागत पहल भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा बागमती प्रदेश स्काउट कार्यालयबाट प्रतिनिधित्व गर्दै शैक्षिक पद्धति आयुक्त पपिन्द्र मान सी, विज्येश्वरी अमात्य, सामुदायिक विकास आयुक्त धर्मभक्त मल्ल, कार्यसमिति सदस्य नविना श्रेष्ठलगायत ३६ जना स्काउटरहरू सहभागी थिए। साथै, काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा लागू औषधको प्रभावबारे जनचेतना दिइयो। स्वास्थ्य उपचारमा प्रयोग हुने औषधि चिकित्सकीय सिफारिसमा प्रयोग हुने वैध औषधि हुन् भने, चुरोट, रक्सी, गाँजा, हिरोइन, ब्राउन सुगरजस्ता पदार्थ अवैध लागू औषध हुन्।
विशेषज्ञहरूका अनुसार, लागू औषध दुर्व्यसनको चपेटामा कोही पनि पर्न सक्छ। युवक युवती, धनी गरिब, सहरवासी वा गाउँले। कोही मानसिक पीडाबाट, कोही जिज्ञासाबाट, त कोही सामाजिक प्रभावबाट प्रभावित भई यस्तो बाटोमा लाग्ने गर्छन्।

अभिभावक र शिक्षकहरूलाई सन्देह लाग्न सक्ने लक्षणहरूमध्ये लगातार झुट बोल्ने, चोरी गर्ने, व्यवहारमा परिवर्तन देखिने, टेलिफोनमा लुकीछिपी कुरा गर्ने, आँखा रातो देखिने, शारीरिक तौल घट्दै जाने, खानामा रुचि घट्ने, सरसफाइप्रति चासो नदेखाउने, अनियन्त्रित रूपमा हिँडडुल गर्ने जस्ता व्यवहार उल्लेखनीय छन्।
कार्यक्रममार्फत लागू औषधको असरबारे सचेतना फैलाउँदै, बालबालिकालाई सुरक्षीत राख्न र युवाहरूलाई सकारात्मक बाटोमा डो-याउन अभिभावक, शिक्षक तथा सामाजिक संस्थाहरूलाई विशेष आग्रह गरिएको थियो।



