• TOKHA LIVE

    • १२ असार २०८२, बिहीबार ०८:५७

    टोखामा कारसहित बगाएकी महिला सकुशल उद्धार

     

    टोखा, असार १२ –

    टोखाको विष्णुमती खोलामा आएको बाढीले कारसहित बगाएकी एक महिलाको प्रहरी र स्थानीयको सहकार्यमा सकुशल उद्धार गरिएको छ।

    मंगलबार राति करिब १० बजे ग्रान्डी अस्पताल नजिकैको सडक खण्डबाट बाग्मती प्रदेश ०३१–च ६१४१ नम्बरको ईभी कार खोलामा खसेको थियो। कार कञ्चनपुरका ३५ वर्षीय अंकुश सिंहले चलाइरहेका थिए भने दाङकी ३४ वर्षीया भावना ओली त्यसमा सवार थिइन्।

    कार खोलामा खस्नेबित्तिकै चालक अंकुशले ज्यान जोगाउँदै हाम फालेर बाहिरिन सफल भए। तर भावना ओली भने कारभित्रै थिइन् र बाढीको भेलसँगै बग्न पुगिन्।

    बगिरहेको कारभित्र महिला देखेपछि प्रहरी सक्रिय भयो। कार बग्दै जाँदा बानियाटार पुल नजिक अड्किएपछि प्रहरी र स्थानीय युवाहरूले तत्काल जोखिम मोलेर उद्धार अभियान थाले।

    उद्धार कार्यमा प्रहरी हवल्दार उमेश कुमार लोहनी, सहायक हवल्दार समिर विक, जवान सुमन थापा र स्थानीय अर्जुन गुरुङ तथा राजु तामाङको सक्रियता विशेष उल्लेखनीय रह्यो।
    उनीहरूको सामूहिक प्रयासले भावनाको जीवन जोगियो।

    उद्धार गरिएकी भावना ओली र उद्धारमा सहभागी दुई स्थानीय युवाहरू सामान्य घाइते भएका छन्। उनीहरूको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    घटनापछि प्रहरी नायव उपरीक्षक निरन्जन थापाको नेतृत्वमा प्रहरी र विपद् व्यवस्थापन टोली तत्काल घटनास्थलमा खटिएको थियो। बगाएको कार राति करिब पौने १२ बजे क्रेनको सहायताले निकालिएको हो, जुन हाल नयाँ बसपार्क प्रहरी प्रभागमा राखिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै