• TOKHA LIVE

    • ९ असार २०८२, सोमबार २१:०१

    टोखा नगरपालिकाको १ अर्ब ८० करोडको बजेट पारित

     

    टोखा, असार ९ – टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब ८० करोड रुपैयाँको बजेट पारित गरेको छ। नगर कार्यपालिकाको बैठकले पारित गरेको यो बजेटले स्थानीय आवश्यकता, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षणदेखि नवप्रवर्तनसम्मका विषयलाई प्राथमिकतामा राखेको छ।

    उपप्रमुख मुरारी तामाङका अनुसार, बजेटलाई नीति तथा कार्यक्रमअनुरूप कार्यान्वयन गरिनेछ। पारित रकममध्ये ४३.२६ प्रतिशत अर्थात् ७७ करोड ८६ लाख चालु खर्चका लागि छुट्याइएको छ भने पूँजीगत विकासका लागि ५६.६८ प्रतिशत अर्थात् १ अर्ब २ करोड ३ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि १० लाख रुपैयाँ छुट्याइएको छ।

    नगरपालिकाले बजेट कार्यान्वयनका लागि विभिन्न स्रोतहरूबाट रकम जुटाउने योजना बनाएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट ५८ करोड ९० लाख, प्रदेश सरकारबाट १४ करोड ११ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २३ करोड, आन्तरिक स्रोत तथा अन्य आयबाट ३५ करोड २३ लाख, जनसहभागिताबाट ७५ लाख, र चालु आर्थिक वर्षबाट बाँकी रहेको ४८ करोड रकम समेत समेटिएको छ।

    उपप्रमुख तामाङले भने, “यो बजेट केवल रकमको हिसाब होइन, टोखा नगरको उज्यालो भविष्यको खाका हो। शिक्षादेखि स्वास्थ्य, पूर्वाधारदेखि वातावरणसम्म हरेक क्षेत्रलाई समेटेर पारदर्शी, समावेशी र नतिजामूलक बनाउने हाम्रो प्रतिबद्धता छ।”

    टोखा नगरवासीको जीवनस्तर उकास्ने उद्देश्यसहित तयार गरिएको यो बजेटले स्थानीय विकास र समृद्धिको दिशामा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै