– हिकमत डंगोल
विशेष रिपोर्ट | Tokha Live
२०७१ सालको वैशाख, सगरमाथा आधारशिविरनजिकै खुम्बु आइसफलमा बिहानको शान्त घडीमा एकाएक भीषण गर्जन सुनियो। त्यो दिन, २०१४ अप्रिल १८, सगरमाथाको काखमा १६ जना शेर्पाको ज्यान लिने एक दर्दनाक हिमपहिरो आयो। तर, यही विनाशकारी क्षणमा एक जना बाँचे दावा टाशी शेर्पा / Dawa Tashi Sherpa।
उनी मात्र बाँचेको होइनन्, बाँच्ने त्यो क्षणलाई लेखमा होइन, आत्मामा लेखे र पछि लेखे पुस्तक ‘Sherpa: A Survivor’s Story – Everest Avalanche 2014’।
सोलुखुम्बुबाट सगरमाथाको यात्रा
१९९१ मा सोलुखुम्बुको सिबुजे गाउँमा जन्मेका दावा दावा टासी ११ वर्षमै विद्यालय छोडेर पोर्टर बने। भारी बोक्दै खुम्बुका चिसा पग्लिएका बाटोहरूमा हिँड्दै, उनले जीवनलाई बुझे , शारीरिक पीडाले भन्दा ठूलो बोझ हुन्छ जिम्मेवारीको।
६ वर्षको अनुभवपछि उनले पर्वतारोहण तालिम लिएका थिए। नेपाल पर्वतारोहण संघ, ट्रेकिङ गाइड तालिम, र NOLS बाट Wilderness First Responder जस्ता प्रमाणपत्रसहित उनी २०१३ मा पहिलो पटक सगरमाथाको शिखर चुम्न सफल भए।
हिमालको कोप २०१४ को हिमपहिरो
२०१४ अप्रिल १८, बिहान ६:४५ बजे। खुम्बु आइसफलमा १४,३०० टनको बरफ खसेर अचानक हिमपहिरो आयो। त्यो क्षण Dawa आफ्ना १३ साथी शेर्पासँग डोरीमा बाँधिएका थिए। केही सेकेन्डमा सबै चिप्लिए र बाँकी इतिहास भयो। त्यो डोरीमा बाँधिएकामध्ये,दावा टासी मात्र बाँचे।
उद्धार, उपचार र आत्मसंघर्ष
दावा टासीलाई अर्को टोलीले गहिरो बरफबाट निकाले। उनको चार पसली, काँध र नाक भाँचिएको थियो। हेलिकप्टरबाट काठमाडौं ल्याइयो, र निको हुन एक वर्ष लाग्यो। तर शरीरभन्दा धेरै समय लाग्यो मनका घाउ निको पार्न। नयाँ बाटो र पुरानो जिम्मेवारी।
६,००० मिटरभन्दा माथि चढ्न अब सम्भव थिएन। तर उनले हिमाल छोडेनन्। आफ्नो अनुभवलाई गाइडिङमा रूपान्तरण गरे। उनी तल्लो उचाइका ट्रेकमा गाइड बने, र शेर्पा समुदायको सुरक्षाका लागि आवाज बुलन्द गरे।
शेर्पाहरूको भूमिका, उनीहरूको जोखिम, र न्यून सम्मानप्रति उनको गहिरो आक्रोश छ। सरकारले प्रारम्भमा मृतकका परिवारलाई दिएको ४०,००० रुपैयाँ राहतप्रति उनी असन्तुष्ट छन्। बीमा रकम पछि १५ लाख पुर्याइयो । तर त्यसबीचमा गुमेका आत्माहरू फर्किएनन्।

कथा होइन, चेतना हो यो पुस्तक
दावा टासीको आत्मकथा ‘Sherpa: A Survivor’s Story – Everest Avalanche 2014’ केवल एउटा मान्छे बाँच्ने कथा होइन । एक सम्पूर्ण समुदायको जीवित रहन संघर्षको दस्तावेज हो।
यो पुस्तकमा छ।हिमालको शान्त स्वरूप मात्र होइन, त्यसमा लुकेको प्रचण्ड पीडा र मानवीय संवेदना। सगरमाथा चढ्ने सपना देख्नेहरूसँगै, शेर्पा आवाजलाई बुझ्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक अनिवार्य बन्न सक्छ।
दावा टासी “Dawa Tashi बाँचे तर उनीजस्तै हजारौं शेर्पा अझै जोखिमको पहिरोमुनि छन्।”

