• TOKHA LIVE

    • २१ जेष्ठ २०८२, मंगलवार ११:०९

    गंगटे–टाेखा छहरे सडक: सडक विस्तारसँगै घरआँगनमै खुलेको आम्दानीको बजार

     

    भरत/सन्तोषी लामा
    शिवपुरी, नुवाकोट

    कहिले काहीँ परिवर्तन सानोतिनो लाग्छ, तर प्रभाव गहिरो पार्दछ।

    नुवाकोटको शिवपुरी गाउँपालिका–८, थापगाउँकी ६५ वर्षीया मैयादेवी थपलिया केही वर्षअघिसम्म आफ्ना बारीमा फलाएका तरकारी बेच्न बजारसम्म पुग्नुपर्थ्यो। बोकेर बजार जानु, गाडीको भाडा तिर्नु, समय खर्चिनु — सबै मिलाएर व्यापारभन्दा पनि झन्झट बढी हुन्थ्यो।

    तर, अहिले परिस्थिति फेरिएको छ।टाेखा- छहरे सडक स्तरोन्नति भएसँगै यात्रु र पर्यटकको चहलपहल बढेको छ। यही सडक किनारैमा बसेर मैयादेवी ‘वनदेवी कृषि फर्म’ का ताजा तरकारी, फलफूल र बेमौसमी उपज बेचिरहेकी हुन्छिन्।

    “अब त ग्राहक आफैं घरआँगनमै आइपुग्छन्,” उनी मुस्कुराउँदै भन्छिन्, “हिजो बजार जानुपर्ने समय र पैसा जोगिएको छ, फलफूल यतैबाट सिधै सवारी साधनका यात्रुहरूसम्म पुग्छ।”

    त्यसैगरी चौघडाका कृषक कृष्ण राईलाई पनि आफ्ना उपज बेच्न सहज भएको छ। उनी भन्छन्, “पहिला बजार पु¥याउन गाह्रो हुन्थ्यो, अहिले भने सडक छेउमै फिजाएर बेच्न पाउँदा गर्व लाग्छ।”

    सडकले सिर्जना गरेको यो नयाँ अवसर देखेर थानाभञ्ज्याङ, गुर्जेभन्ज्याङ, सुनखानीलगायत स्थानका किसानहरू पनि उत्साहित छन्। कोही काफल, खुर्पानी, तर्बुजा बेचिरहेका छन् भने, कोही मुला, केरा र मौसमी फलफूल राखेर ग्राहक पर्खिरहेका छन्।

    सुनखानीकी चमेली तामाङ सडक छेउमै फर्सीको मुन्टा राखेर बेच्दछिन्। “दैनिक हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनी भन्छिन्, “घरको काम पनि हुन्छ, कमाइ पनि।”

    टोखा – छहरे सडक अहिले कृषि उपज बेच्ने ‘हाइवे बजार’ जस्तै बन्दै गएको छ। यसले केवल किसानको जीवनशैली बदलेको छैन, कृषि र पर्यटनलाई एकैसाथ जोड्ने नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ।

    विकास भनेको केवल सडक बनाउनु होइन, मानिसको जीवनमा सुगमता ल्याउनु हो। शिवपुरीका किसानहरू अहिले यही अनुभूत गरिरहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै