काठमाडौं, २० जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हरित वातावरण निर्माण गर्ने लक्ष्यसहित बैंकले यी दुई स्थानमा २५०० भन्दा बढी विरुवा रोपेको हो।
टोखा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा १००० वटा फलफूलका विरुवा रोपिँदा वातावरण मात्र होइन, विद्यार्थीहरूमा पनि वृक्षप्रति माया र संरक्षणको भावना विकसित भएको छ। कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी र स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५०० वटा बाँसका विरुवा रोपिएका छन्। यहाँको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, नेपाली सेना, प्रहरी, तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यो वर्ष १८ हजार विरुवा रोप्ने लक्ष्यसहित देशभर वृक्षारोपण अभियान चलाइरहेको छ। सातै प्रदेशका विभिन्न स्थानमा यो अभियान विस्तार गरिएको छ।
ग्लोबल आइएमई बैंकले वातावरण संरक्षणसँगै स्थानीय तहमा आयआर्जनमा समेत टेवा पुर्याउने विश्वास लिएको छ। फलफूल र बाँसजस्ता उपयोगी विरुवाले वातावरण शुद्धीकरण मात्र होइन, समुदायको आर्थिक उन्नतिमा पनि योगदान दिने अपेक्षा गरिएको छ।
देशभर ७७ वटै जिल्लामा शाखा रहेको ग्लोबल आइएमई बैंक ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित सेवा केन्द्र, ६८ राजस्व तथा एक्सटेन्सन काउन्टर, र ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ। साथै, बैंकले अमेरिका, बेलायत, कोरिया, जापान, खाडी मुलुकसहित विश्वका थुप्रै देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराइरहेको छ।
ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ जस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त ग्लोबल आइएमई बैंकले भविष्यमा पनि यस्तै सकारात्मक कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

