काठमाडौं, २० जेठ — विचार र विवेकको संगम बनेको नेपाल बुद्धिजीवी परिषद्को नयाँ नेतृत्व चयन भएको छ। एमाले निकट परिषद्को ११औं राष्ट्रिय अधिवेशनले इञ्जिनियर गजेन्द्रप्रसाद थपलियालाई अध्यक्षमा निर्वाचित गरेको छ।
टोखा नगरपालिका–७ मा सम्पन्न अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। परिषद्का अधिकांश पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने प्रतिस्पर्धा भएको थियो।
अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजय हात पारेका हुन्, भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याए।
त्यस्तै, उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने सचिव पदमा प्रा.डा. इश्वरी कडरिया १६१ मतसहित निर्वाचित भए।
महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिवमा डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सुशील विक, विदेशी मामिला सचिवमा डा. लाक्पा शेर्पा, प्रचार सचिवमा डा. टीका ढकाल, र आर्थिक सचिवमा कृष्णकुमार लम्साल सर्वसम्मत रूपमा चयन भएका छन्।
निर्वाचित अध्यक्ष थपलियाले मन्तव्य दिँदै भने, “म बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट यहाँसम्म आइपुगेको छु। परिषद् मेरो लागि परिवारभन्दा पनि प्रिय संस्था हो।” उनले सबैप्रति आभार प्रकट गर्दै विश्वास र साथको अपेक्षा गरे।
निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले पछिल्ला वर्षहरूमा परिषद्ले विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत देशको राजनीतिक र सामाजिक धारालाई प्रभाव पारेको बताए। उनले अब नयाँ नेतृत्वले त्यो भूमिकालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
अधिवेशनको उद्घाटन स्वयं प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उनले परिषद्को बौद्धिक भूमिकाको प्रशंसा गर्दै भने, “तपाईंहरू बुद्धि बेचेर खाने वर्ग होइन, समाजलाई सही मार्ग देखाउने अगुवा हो।”
ओलीले राजतन्त्रको बहसलाई असान्दर्भिक भन्दै लोकतन्त्र र संविधानको संरक्षणमा एकढिक्का भएर अघि बढ्न आग्रह गरे।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुद्धिजीवी वर्गको नीति, योजना र चरित्र निर्माणमा रहेको भूमिकालाई स्मरण गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न अनुरोध गरे। उनले पार्टीमाथि हुने आक्रमणहरूलाई राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढ उभिएको परिणाम भने।

