टोखा, काठमाडौं जेठ १९
टोखा नगरपालिकावडा २ को आयोजना तथा नेवाः गुथि टोखाको संयोजनमा सञ्चालन गरिएको सातदिने “नेपाल भाषा उद्घोषण तथा भाषणकला तालिम” शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल भाषामा युवाको अभिव्यक्तिलाई सबल बनाउने उद्देश्यसहित सुरु गरिएको यो तालिमले सहभागीहरूमाझ आत्मविश्वास र भाषाप्रति गहिरो लगाव थपेको प्रशिक्षक राजु नापितको भनाइ थियो ।

प्रशिक्षक राजु नापितको कुशल प्रशिक्षणमार्फत सहभागी ३४ जना युवायुवतीहरूले उद्घोषण र भाषणकलाका विविध पक्षहरू बुझ्नुका साथै व्यवहारिक अभ्याससमेत गरेका थिए।
समापन समारोहमा प्रमुख अतिथि टोखा नगरपालिकाका उप–प्रमुख मुरारी तामाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले भाषिक चेतना र आत्मविश्वास विकासमा यस्ता तालिमको ठूलो भूमिका हुने भन्दै निरन्तरताको आवश्यकता औंल्याए।

कार्यक्रममा विशिष्ट अतिथिहरु टाेखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टाेखा वडा २ का सदस्य अमर डंगोल ,वडा महिला सदस्य लक्ष्मी हिङ्माङ, वडा सचिव सालिकराम लगायत नेवाः गुथि टोखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।अतिथिहरु सबैले तालिममा देखिएको उत्साह र युवाहरूको सक्रियतालाई सकारात्मक संकेतका रूपमा लिएका थिए।
नेपाल भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि युवालाई सशक्त बनाउने यस्ता प्रयासहरू सराहनीय भएको सहभागीहरूको धारणा थियो। यस्ता कार्यक्रमबाट युवामा आत्मविश्वास र भाषाप्रति प्रेम थपिएको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो। भने कार्यक्रमले नेपाल भाषामा अभिव्यक्तिको ढोका खोलिदिएको अनुभूति सहभागीहरूले गरेका छन्।

