हेटौंडा, मकवानपुर जेठ १७
झण्डै तीन दशकदेखि जनजाति र सिमान्तकृत समुदायको पक्षमा कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार कुमार भक्त रञ्जितकार बागमती पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहमा पत्रकार रञ्जितकारलाई नगद रु. २५,००० सहित ‘बागमती पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।
पत्रकार रञ्जितकारले मातृभाषा तथा अन्य भाषाका माध्यमबाट आवाजविहीन समुदायको आवाज बुलन्द बनाउँदै आउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारले उहाँलाई सम्मान गरेको हो।
हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य, मुख्यमन्त्री बहादुर सिंह लामाको सभापतित्व र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेको उपस्थितिमा पत्रकार रञ्जितलाई पुरस्कार हस्तान्तरण गरियो।
पुरस्कार घोषणा गर्दै प्रदेश सरकारले भावुक शब्दमा भन्यो, “आगामी दिनमा पनि पत्रकारितामार्फत सिर्जनात्मक र कलात्मक योगदानले प्रदेशको प्रतिष्ठा अझ उच्च बनाउने विश्वास लिएका छौं।”
कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, प्रदेश सरकारका उच्च अधिकारी, पत्रकार महासंघका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

