टोखा, काठमाडौं जेठ १४/ टाेखा नगरपालिका वडा ३ स्थित एन्जल्स प्याराडाइज स्कुल कक्षा ३ का विद्यार्थी भाइबहिनीले सामाजिक अध्ययन (S.S) को पाठ बाहिरको संसारमा पाइला राख्दै आज टोखा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अवलोकन गरेका छन्।
यो अवलोकन भ्रमण शिक्षण मात्र होइन, बालबालिकाको मनमा समाज, संस्कृति र प्रकृतिप्रति प्रेम रोप्ने अवसर पनि बन्यो। उनीहरूले टोखाको प्रसिद्ध सपनतीर्थ, चण्डेश्वरी मन्दिर, हरियालीले ढाकिएको भूतखेल पार्क, र टोखा कम्युनिटी क्षेत्र भ्रमण गरे।

यो यात्रामा शिक्षिका मनिता डंगोल र रमिता चौधरीको स्नेहपूर्ण साथमा सम्पन्न भयो। बालबालिकाले केवल किताबमा पढेको होइन, आफ्नै आँखाले हेरेर, छामेर र अनुभूति गरेर सामाजिक अध्ययनको सार नजिकैबाट बुझ्ने मौका पाएको शिक्षिकाहरुले बताइन।

आज टोखा क्षेत्रमा गरिएका अवलोकनमा बालबालिकाले निम्न ऐतिहासिक स्थल र सम्पदाको अध्ययन गरे:
पलखुसिमा परम्परागत चाडपर्व झल्काउने भित्तेचित्र, पुखुसि, ध्वाखासि,त्वाप: द्य:,क्वःनेलाछि,तोखायचा पाचा ,थःनेलाछि लिच्छविकालीन नारा द्य:, गायहिति,नास: द्य:, नास: पाचा, सपनतिर्थ मन्दिर, चण्डेश्वरी मन्दिर, मुस्कानेश्वर महादेव, कालीमाता, चन्दद्य, गणेश मन्दिर, भिन्द्य:,ससुख्य: र भख्य: यी सम्पदामार्फत बालबालिकाले टोखाको सांस्कृतिक गहिराइ र ऐतिहासिक जरा महसुस गरेका थिए ।

टोखाको इतिहास केवल किम्बदन्ती होइन, लिच्छविकालीन अभिलेख र संस्कृतिबाट पुष्टि हुन्छ। यहाँका राजा धर्मदत्तको शासनकालदेखि नै टोखा एउटा समृद्ध र सांस्कृतिक रूपमा सम्पन्न क्षेत्र रहेको मानिन्छ।
धर्मदत्तका समकालीन राजा विक्रमादित्यको आगमनसँगै विक्रम संवतको सुरुवात जोडिँदा टोखाको प्राचीनता झनै उजागर हुन्छ। लिच्छवि संवत ५१९ को अभिलेख र ‘तिलमक’ शब्दको प्रयोगले टोखाको इतिहास २००० वर्षभन्दा पुरानो रहेको प्रमाणित गर्छ।
यस्तो अनुभवले नानीहरूको बालमनमा आफ्नै समुदायप्रति माया, जिम्मेवारी र संस्कारको बीउ रोप्छ। पाठ्यपुस्तकको सिमानाभन्दा बाहिरको संसार हेर्न पाउँदा उनीहरूमा संस्कृति र प्रकृतिको महत्त्व अझ प्रगाढ रूपमा बसेको विद्यालयले अनुभुती गरेको छ।



