• TOKHA LIVE

    • १४ जेष्ठ २०८२, मंगलवार ०८:५६

    टीआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई ‘स्किब्स कप’ को उपाधि

    काठमाडौं, जेठ १३।

    टाेखा नगरपालिका वडा ५ स्थित स्किब्स एकेडेमीको बास्केटबल कोर्टमा गुञ्जिएको जोश, जाँगर र जुझारुपन सोमबार समापन भयो, जहाँ टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिक स्कूलले नवौं ‘स्किब्स कप’ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

    प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा पारामाउन्ट एकेडेमीले ज्ञान निकेतनलाई १९–७ को सहज जित निकाल्दै उपाधि हात पार्‍यो। पारामाउन्टका सुदीप घलेको शानदार प्रदर्शनले टोलीलाई जिततर्फ डोर्यायो, र उनी नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

    सिनियर ब्वाइजको फाइनल खेलमा टीआईएका खेलाडीहरू न्युटन स्कुलविरुद्ध आत्मविश्वासका साथ उत्रिए। नतिजा, २१–१२ को फराकिलो जितसहित उपाधि उनीहरूको पोल्टामा पर्यो। वर्दान थापा ‘मोस्ट भेलुएबल प्लेयर’ बन्न सफल भए।

    गल्र्स तर्फको सिनियर उपाधि भ्याली पब्लिक स्कूलले त्रिज्योतिलाई २१–८ ले पराजित गर्दै जित्यो। टोलीकी प्रमुख खेलाडी दृष्य गुरुङको उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिच्यो र उनलाई पनि ‘मोस्ट भेलुएबल प्लेयर’ को सम्मान दिइयो।

    प्रतियोगिता समापन कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगर प्याब्सन अध्यक्ष तथा स्किब्स एकेडेमीका प्रिन्सिपल अरुण केसी, अमर इङलिस से. स्कुलका प्रीन्सिपल हरिदास श्रेष्ठ, लक्ष्मीपुर इङलिस स्कुलका प्रीन्सिपल राजेश श्रेष्ठ र पारामाउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्द पाण्डेले विजेता खेलाडीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गर्दै उज्यालो भविष्यको शुभकामना व्यक्त गरे।

    यस पटकको प्रतियोगितामा सिनियर ब्वाइज तर्फ ३२, जुनियर ब्वाइजमा २३ र सिनियर गल्र्स तर्फ १६ टिमको सहभागिता रह्यो। स्किब्स कपले फेरि एकपटक स्कूलस्तरीय खेलकुदमा युवाहरूको ऊर्जा, अनुशासन र खेल भावना उजागर गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै