• TOKHA LIVE

    • १४ जेष्ठ २०८२, मंगलवार ०५:४६

    ए डिभिजन पुगेको भगवती क्लबलाई टोखा नगरपालिकाबाट एक करोड सहयोग , भूतखेल मैदान पनि दिने

     

    टोखा, १३ जेठ – फुटबलको मैदानमा ऐतिहासिक सफलता हासिल गरेको श्री भगवती क्लबले अब आफ्नै नगरबाट अपार माया र साथ पाउने भएको छ। ‘शहीद स्मारक बी डिभिजन लिग’मा १३ खेलमा ७ जित, ५ बराबरी र १ हारको उत्कृष्ट प्रदर्शनसहित उपविजेता बनेको क्लबले ए डिभिजनमा स्थान बनाएको खुसीमा टोखा नगरपालिकाले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।

    टोखा नगरपालिकाले सोमबार एक विशेष समारोह आयोजना गर्दै क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सम्मान मात्र गरेन, नगरप्रमुख प्रकाश अधिकारीको तर्फबाट भावनाले भरिएको साथ र समर्पणको संकेतस्वरूप एक करोडको सहयोग घोषणा गरियो।

    “श्री भगवती क्लबको सफलताले टोखा मात्रै होइन, सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ,” मेयर प्रकाश अधिकारीले कार्यक्रममा भावुक हुँदै भने, “अबको यात्रामा क्लबलाई कुनै कमी हुन दिँदैनौं।” उनले क्लबको भविष्य अझ उज्यालो बनाउन नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।

    त्यसैगरी उपप्रमुख मुरारी तामांगले क्लबका लागि ऐतिहासिक भूतखेल मैदान अभ्यास र प्रतियोगिता प्रयोजनका लागि खुला गरिने जानकारी गराए। साथै क्लबले खेलाडी उत्पादन गर्न एकेडेमी स्थापना गर्ने सपना देखेको भन्दै त्यसका लागि पनि आवश्यक व्यवस्था मिलाइने बताए।

    २६ अंक बटुल्दै ए डिभिजनमा प्रवेश गरेको भगवती क्लबको यो सफलतालाई नगरवासीहरूले गर्वको विषय मानेका छन्। समारोहमा नगरपालिकाले क्लबका खेलाडी र अफिसियललाई मायाको चिनोस्वरूप पोसाक वितरण गर्दै आगामी यात्राको लागि शुभकामना व्यक्त गर्‍यो।

    टोखाको माटोबाट उठेको यो क्लब अब राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्रिँदैछ। नगरको माया, साथ र विश्वास बोकेर श्री भगवती क्लब नयाँ अध्यायको ढोका खोलेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै