काठमाडौं, जेठ १२ /
“टोखा अब दुर्व्यसनमुक्त बनाउने सपना देखिरहेको छ।” – यो वाक्य आइतबार गोंगबुस्थित सौगात पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले उच्च स्वरमा सुनाए।
लागूऔषध दुव्र्यसन नियन्त्रणको उद्देश्यसहित आयोजित कार्यक्रममा टोखा नगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालय र विभिन्न समुदायसँग हातेमालो गर्दै दृढ सन्देश दिएको छ – “अब मौन रहने होइन, मिलेर बोल्ने र बदल्ने बेला हो।”
कार्यक्रमको प्रमुख आकर्षण थिए – प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ। उहाँले सूक्ष्म स्वरमा बोले, तर गहिरो सन्देश दिए – “जनचेतना नै दीर्घकालीन समाधानको मूल आधार हो। लागूऔषधविरुद्धको लडाइँ केवल कानुनको होइन, चेतनाको हो।”
त्यही चेतना बोकेर नगरपालिका र प्रहरीबीच सहकार्य समझदारीपत्र (MoU) आदानप्रदान भयो – जुन केवल कागजमा हस्ताक्षर होइन, टोखालाई दुर्व्यसनमुक्त बनाउने यात्राको औपचारिक थालनी थियो।
कार्यक्रममा न केवल अधिकारीहरू, तर समाजका सबै तहका आवाजहरूले सहभागिता जनाए। चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीदेखि शिक्षाविद् डा. विद्यानाथ कोईराला, बाल अधिकारकर्मी डा. कृष्ण सुबेदी, स्वास्थ्य क्षेत्रका विज्ञहरू र स्थानीय अभिभावक, शिक्षक, विद्यार्थीहरू उपस्थित थिए – सबै एउटै उद्देश्यका लागि एकजुट।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले उपस्थितलाई हार्दिक स्वागत गरे। त्यसपछि प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधका प्रकार, असर र कानुनी पक्षबारे प्राविधिक प्रस्तुति दिए, जसले उपस्थित सबैलाई गम्भीर बनायो।
सन्देशलाई अझै छर्लंग बनाउन, कार्यक्रममा लागूऔषधविरुद्धको सचेतनामूलक भिडियो देखाइएको थियो। अनि सार्वजनिक गरियो एक सानो तर अर्थपूर्ण कदम – ‘दुर्व्यसन रहित घर अभियान’ अन्तर्गत तयार गरिएको स्टिकर।
साना-ठूला घरमा टाँसिने ती स्टिकरहरू, शायद कसैको जीवन बदल्ने सुरुवात बन्छन्।अब टोखा दुर्व्यसनविरुद्धको लडाइँमा एक्लो स्वर छैन। उसले हात समातेको छ – जिम्मेवारीको, सहकार्यको र आशा चेतनाका स्वरमा प्रहरी, नगरपालिकाको सहकार्यले त्यो स्वर अझ बुलन्द बनाएको थियो।

