टोखा काठमाडौं १२ जेठ /
टोखाको खेल इतिहासमा एक नयाँ अध्याय थपिएको छ। टोखा नगरपालिकाको आयोजनामा भएको टाेखा नगर क्रीकेट कप २०८२ को पहिलो संस्करण, जुन समर्पण, खेल भावना र युवाको उज्यालो भविष्यले भरिएको थियो।
क्रिकेट प्रतियोगितामा टोखा नगरपालिकाका १० विद्यालयको सहभागी रहेको थियोे । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्तिथि थिए ।
विद्यालयस्तरमै यस्ता प्लेटफर्म हुनु आफैँमा एउटा ठूलो उपलब्धि हो। प्रतियोगिताका प्रमुख अतिथि तथा नेपाल क्रिकेट संघका महासचिव र पूर्व कप्तान पारस खड्काले भने:
“विद्यालयस्तरमै खेलकुदप्रतिको रुचि र प्रतिभाको पहिचान गर्नु आजको आवश्यकता हो। क्रिकेटजस्तो लोकप्रिय खेलमा नयाँ पुस्तालाई प्रेरणा दिने यस्ता प्रतियोगिताहरूले खेलाडीहरूको आत्मविश्वास बढाउँछ र उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ।” “यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडीहरू जन्मिन्छन् भन्ने विश्वास लिएको छु । मेहनत र लगन नै सफलता प्राप्तिको मूल चाबी हो । टोखा नगरपालिकाले झैं हरेक पालिकाले क्रिकेट प्रतियोगितालाई यसैगरी आयोजना गरेको खण्डमा क्रिकेट खेलको विकास एवं प्रबर्द्धनमा सहयोग पुग्ने बताएका थिए ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरि टि-१० फ्रम्याटमा प्रतिस्पर्धा गराइएको थियोे ।
समूह ए मा एपी स्कूल, श्री सत्य साई शिक्षासदन, त्रियोग हाई स्कूल, काठमाडौं यूरो स्कूल र प्यारामाउन्ट एकेडेमी रहेका थिए । त्यसैगरी समूह बी मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कूल, डिभाइन स्कूल, त्रिवेणी सदन इंग्लिश सेकन्डरी स्कूल र नितेन मेमोरियल स्कूल रहेका थिए । समुह चरणमा प्रत्येकल्र टोलीले चार–चार खेल खेलेका थिए ।
प्रतियोगिताको फाइनल खेल वर्षाले बाधक बन्दा फाइनल पुगेका श्री सत्य साई शिक्षासदन र सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषणा गरिएको प्रतियोगीताकी निर्देशक खुशी डंगोलले बताइन।
फाइनल खेल रोचक मोडमा थियो। सत्य साई शिक्षा सदन र सरस्वती माध्यमिक विद्यालयबीचको प्रतिस्पर्धा निकै उत्साहजनक चलिरहेको थियो। तर, आकस्मिक वर्षाले खेल रोकियो। अन्ततः आयोजकले दुवै विद्यालयलाई संयुक्त विजेता घोषणा गरे।खेलाडीहरूको आत्मविश्वास, सहकार्य र अनुशासनले दर्शकको मन जित्यो।
सत्य साई शिक्षा सदनको प्रदर्शन अझ चम्किलो रह्यो—उक्त विद्यालयले सर्वश्रेष्ठ ब्याट्सम्यान, सर्वश्रेष्ठ बलर, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमको उपाधि समेत आफ्नो पोल्टामा पार्न सफल भयो।

