टोखा काठमाडौं ११ जेठ / टस जितेर ब्याटिङ रोजेको श्री सत्य साई शिक्षा सदनले आजको सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नितेन मेमोरियल स्कुललाई ५८ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
१० ओभरको छोटो तर धमाकेदार खेलमा सत्यसाई शिक्षाले १५१ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो। आशिष मण्डलको विस्फोटक ४७ रन (२२ बलमा) ले इनिङ्सको गति बढायो भने सौरभ गोइतले ३३ (१४ बलमा) र युवराज यादवले अविजित २६ रन (१५ बलमा) जोड्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
बलिङमा नितेन मेमोरियलका उज्ज्वल बंसी, सजन परियार र सुभास ढिमालले एकएक विकेट लिँदै केही प्रतिकार गर्ने प्रयास गरे पनि साई शिक्षाको ब्याटिङ आन्धी रोक्न सकेनन्।
लक्ष्य पछ्याउन उत्रिएको नितेन मेमोरियल स्कुलले केही चमक देखाए पनि नियमित अन्तरालमा विकेट गुमाउँदै ९३ रनमै समेटियो। विवेक थापाले २५ बलमा ३८ रन बनाए भने सुमन सुनारले छोटो तर चञ्चल १६ रनको योगदान दिए।
साई शिक्षाको बलिङमा आशिष नगरीले २ विकेट मात्र ९ रनमा लिँदै कमाल गरे। रितिक महतोले पनि २ विकेट लिए भने आदित्य यादवले एक विकेट झारे।

खेलको अन्त्यमा आशिष मण्डललाई “प्लेयर अफ द म्याच” घोषणा गरियो। ब्याटमा उनले दिएको योगदान नै खेलको टर्निङ पोइन्ट साबित भयो।
अब साई शिक्षा सदन उपाधि नजिक पुगेको छ। फाइनलमा अपि स्कुल र श्री सरस्वती मावी बिचको सेमिफाइनल बिजेतासंग फाइनल खेल खेल्ने छ।

