टोखा नगरपालिका क्रिकेट कपको ऐतिहासिक फाइनलमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै
टोखा १० जेठ २०८२ /
नेपाली क्रिकेटका अनुकरणीय पात्र, पूर्व कप्तान पारस खड्का, अब टोखा आउँदैछन्। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने ऐतिहासिक योगदान दिएका खड्का, पहिलोपटक आयोजना गरिएको टोखा नगरपालिका क्रिकेट कपको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
फाइनल खेल यही आइतबार, ११ जेठका दिन टोखा सरस्वतीको भूतखेल मैदानमा हुने निश्चित भएको छ। क्रिकेटप्रेमीहरूको उत्साह अझ चुलिएको छ, जब पारस खड्का जस्ता लिजेन्ड खेलाडी साक्षात् उपस्थित हुने खबर सार्वजनिक भयो।
खड्का त्यो नाम हो, जसले जर्सी नम्बर ७७ मा ‘नेपाल’ लेखेर मुलुकको नाम संसारभर चम्काएका थिए। अब, उनी टोखाका युवाहरूसँग, क्रिकेटका चुलिंदै गरेका सपना र सम्भावनासँग, प्रत्यक्ष जोडिनेछन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल भन्छिन्, “पारस दाइको उपस्थितिले यो प्रतियोगिता अझ ऐतिहासिक बन्नेछ। यसले टोखा नगर, युवाहरूको उत्साह र समुदायको एकतालाई थप मजबुत बनाउनेछ।”
टोखा नगरपालिका क्रिकेट कपले स्थानीय प्रतिभाहरूलाई मञ्च मात्र दिएको छैन, खेलप्रतिको माया र एकताको सम्वाहकको रूपमा पनि गहिरो प्रभाव छोडेको छ। पारस खड्काको आगमनले त्यस मर्मलाई अझ जीवन्त बनाउने विश्वास आयोजकहरू राख्छन्। अब फाइनल खेलको रौनक र पारस खड्कासँगको क्षण– दुईटै कुराले क्रिकेटप्रेमीहरूको मन जित्ने निश्चित देखिन्छ।

