टाेखा काठमाडौं ७ जेठ / टोखा नगरपालिका क्रिकेट कप अन्तर्गतको रोमाञ्चक खेलमा एपी स्कूलले त्रियोग हाई स्कूललाई १५ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।
१० ओभरको सीमित ओभर खेलमा एपी स्कूलले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १०९ रन बनायो। युगन्त कार्कीले २४ बलमा ४७ रनको विस्फोटक इनिङ खेल्दै टोलीलाई मजबुत स्कोरमा पुर्याए। उनलाई उर्वर श्रेष्ठ (२३ रन) र विशाल बुद्ध (१० रन) ले राम्रो साथ दिए।
जवाफी इनिङमा त्रियोग हाई स्कूल ९४ रनमै सीमित भयो। यद्यपि आयूब बिश्वकर्माले २३ बलमा अविजित ३५ रन बनाएर जिततर्फको आशा जगाएका थिए, तर अन्य ब्याट्सम्यानहरू खासै चम्किन सकेनन्।
बलिङतर्फ एपी स्कूलका विशाल बुद्ध (२ विकेट, ७ रन), उर्वर श्रेष्ठ (२ विकेट, १५ रन) र विराट बस्नेत (२ विकेट, २७ रन) ले विपक्षी ब्याट्सम्यानलाई दवावमा राखे।
उत्कृष्ट प्रदर्शनका लागि युगन्त कार्कीलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। यस सानदार जितसँगै एपी स्कूलले प्रतियोगितामा आफ्नो दाबेदारी अझ बलियो बनाएको छ।

