• TOKHA LIVE

    • ८ जेष्ठ २०८२, बुधबार ०५:३८

    ए डिभिजनमा उक्लियो भगवती क्लब, टाेखामा उत्सवको माहोल

    टाेखा,काठमाडौं जेठ ६/
    टाेखा भगवती क्लबले ऐतिहासिक सफलता हात पार्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा स्थान सुरक्षित गरेको छ। मंगलबार एन्फा कम्प्लेक्समा भएको निर्णायक खेलमा भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै शीर्ष डिभिजनमा उक्लिने सपना पूरा गर्‍यो।

    जितसँगै भगवती क्लबले १२ खेलबाट २६ अंक बटुल्दै लिगको दोस्रो स्थान हासिल गर्‍यो। यसअघि नै प्लानिङ ब्वाइजले शीर्ष स्थानसहित ए डिभिजनमा उक्लिएको थियो। ब्वाइज युनियन भने १९ अंकमा सीमित हुँदै दोस्रो डिभिजनमै रोकिएको छ।

    एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलपछि क्लबका खेलाडी तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन गरे। साथै, टाेखा नगर प्रमुख प्रकाश अधिकारी र वडा नं. ७ का अध्यक्ष नरोत्तम राना स्वयं मैदानमा पुगेर टोलीलाई उत्साहजनक शुभकामना व्यक्त गरे।

    ए डिभिजनको यात्रा सुनिश्चित भएपछि टाेखामा खुसीको लहर छाएको छ। क्लब समर्थकहरू श्री भगवती ब्यान्डसहित मैदानमा झुल्किए। उनीहरूले ‘मंगलधुन’, ‘रातो र चन्द्र सूर्य’ र ‘हामी हेरेको हेर्यौं’जस्ता भावुक गीतमा रमाउँदै खेलाडी र अफिसियलहरूलाई आत्मीय नाचगानसहित बधाई दिए।

    यो जितले भगवती क्लब मात्र होइन, सम्पूर्ण टाेखावासीको गर्व बढाएको छ। अब क्लबले नयाँ अध्यायको सुरुवात गर्दै ए डिभिजनको प्रतिस्पर्धामा आफूलाई स्थापित गर्ने तयारी थालेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै