टोखा काठमाडौं ५ जेठ / टोखा नगर क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा नितेन मेमोरियल स्कूलले डिभाइन स्कूलमाथि ५ विकेटको उत्कृष्ट जित दर्ता गरेको छ। डिभाइन स्कूलले पहिलो ब्याटिङ गर्दै १० ओभरमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो। तर, जवाफी ब्याटिङमा उत्रिएको नितेन मेमोरियलले ५ विकेट गुमाउँदै १० ओभरमै लक्ष्य पूरा गर्दै शानदार जित हात पार्यो।
डिभाइन स्कूलका साहाबाज आलमले १६ बलमा तिव्र ४३ रन बनाउँदै टिमलाई बलियो सुरुवात दिलाएका थिए। शिशिर चौहानले पनि १९ बलमा २६ रनको योगदान दिए। बलिङतर्फ नितेनका उज्ज्वल बंसी, सवाश धिमाल र सजन परियारले प्रभावशाली प्रदर्शन गर्दै महत्त्वपूर्ण विकेट लिएका थिए।
जवाफमा नितेन मेमोरियल स्कूलका उज्ज्वल बंसीले १९ बलमा अविजित ३१ रन बनाउँदै जित दिलाउन मुख्य भूमिका खेले। साथमा विवेक तामाङले १४ बलमा २६ रन र अमन आइडीले १० रन जोड्दै जित नजिक पुर्याए। डिभाइनका शिशिर चौहान र दिव्यम आचार्यले २–२ विकेट लिँदै खेललाई रोचक बनाए पनि लक्ष्य रोक्न सकेनन्। यस सानदार जितसँगै नितेन मेमोरियल स्कूलले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

