काठमाडौं ४ जेठ/टोखा नगरपालिका–२ मा युवाहरूको प्रतिभा निखार्ने र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित एक हप्ते नेपालभाषा उद्घोषण तथा भाषण तालिम सुरु भएको छ।
टोखा नगरपालिका–२ को आयोजनामा र नेवाः गुथि टोखाको सहकार्यमा सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रममा कार्यवहाक वडाध्यक्ष आर्यन डंगोलले उद्घोषणलाई व्यक्तित्व विकासको महत्वपूर्ण कला भन्दै यसले युवाहरूमा आत्मविश्वास र नेतृत्वदायि क्षमता अभिवृद्धि गर्ने बताए।

“म गर्छु, म सिक्छु” भन्ने भावना बोकेर तालिममा सक्रिय सहभागिता जनाउन उनले सहभागीहरूसँग आग्रह गरे। साथै, सात दिनको तालिम पर्याप्त नहुने भन्दै आगामी आर्थिक वर्षमा एडभान्स तालिमका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

वरिष्ठ सञ्चारकर्मी राजु नापितको प्रशिक्षणमा सञ्चालित तालिममा नेपालभाषामा उद्घोषण तथा भाषण कसरी गर्ने भन्ने कुरा आधारभूतदेखि व्यावसायिक तहसम्म सिकाइनेछ। नापितले सिकेका सीपहरू व्यवहारमा उतार्न जरुरी रहेको बताए।

तालिमको शुभकामना मन्तव्य नेवाः गुथि टोखाका वरिष्ठ उपाध्यक्ष रामलाल महर्जन र संस्कृति क्षेत्र विकास समिति सदस्य–सचिव रविना श्रेष्ठले व्यक्त गरे।
तालिम वडा कार्यालयको सभाहलमा सात दिनसम्म सञ्चालन हुनेछ भने उद्घाटन सत्र वडा सचिव शालिक राम गौतमले सञ्चालन गरेका थिए।
यो तालिमले नेपालभाषाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ।


