• TOKHA LIVE

    • ४ जेष्ठ २०८२, शनिबार २२:०८

    टोखा वडा २ मा ४५ दिने ब्यूटी पार्लर तालिम सम्पन्न

    सुशीला डंगोल

    टोखा, काठमाडौं ३ जेठ / “सीप सिकौं, उद्यमी बनौं” भन्ने प्रेरणादायी नारासहित टोखा नगरपालिका वडा नं. २ मा सञ्चालन गरिएको ४५ दिने बेसिक ब्यूटी पार्लर तालिम शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ। वडा अध्यक्ष धमेन्द्र श्रेष्ठको विशेष पहलमा सुरु भएको यो तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भरता र सशक्तिकरणतर्फको बाटोमा अघि बढाएको बताउनुभयो ।

    टोखा वडा २ को चण्डेश्वरीस्थित सिस्टर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा सम्पन्न तालिमको समापन कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरूलाई सीप सिक्न र उद्यमी बन्न प्रेरित गर्दै भन्नुभयो, “सीपले आत्मबल बढाउँछ, आत्मबलले नै परिवर्तन ल्याउँछ। यस्ता तालिमले वडामा उद्यमशीलताको विकासमा टेवा पुग्नेछ।”

    वडा सदस्य सविना श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यावसायिक र उपयोगी तालिमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “महिला सशक्तिकरणको यात्रा यस्ता कार्यक्रमहरूमार्फत अघि बढ्छ,” उहाँले थप्नुभयो।

    प्रशिक्षक शान्ती श्रेष्ठले सहभागी महिलाहरूको उत्साह, लगनशीलता र सिक्ने इच्छाशक्तिको खुलेर प्रशंसा गर्नुभयो। “सिकाइसँगै आत्मविश्वास पनि बढेको छ। अब यी सीपहरू व्यवहारमा उतार्ने समय आएको छ,” उहाँले भावुक हुँदै भन्नुभयो।

    समापन समारोहमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरियो। तालिममा सहभागीहरूले अनुहार सिंगार, कपाल साजसज्जा, ह्यान्ड फेशियल, हेयर वास जस्ता आधारभूत सीपहरू सिकेका थिए।टोखा वडा २ मा यस्तो कार्यक्रमले महिलाहरूमा आत्मनिर्भर बन्ने नयाँ आशा र प्रेरणा थपेको देखिन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै