टोखा,काठमाडौं ३ जेठ / “खेलकुद मार्फत मित्रता, संरक्षण र समर्पणको भावना फैलाऔं” भन्ने उद्देश्यका साथ टोखा नगरपालिका क्रिकेट कप २०२५ को ट्रफी अनावरण तथा टाई-सिट ड्र आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश डंगोल र प्रतियोगिताको निर्देशक राष्ट्रिय महिला क्रीकेट खेलाडी खुशी डंगोलले संयुक्तरूपमा प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक गर्नुभएको छ। वडा अध्यक्ष रमेश डंगोलले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै उहाँले युवाहरूको ऊर्जा सकारात्मक दिशामा लागोस् भन्ने उद्देश्यले यस्ता प्रतियोगिता निरन्तर आवश्यक रहेको पनि बताउनुभयो। प्रतियोगितामा सहभागी १० टिमहरूलाई दुई समूह (A र B) मा बाँडिएको छ। समूह निर्धारण र टाई-सिट ड्र सार्वजनिक कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। प्रतियोगिता यहि जेठ ५ गते देखि टाेखा वडा ३ स्थित भुटखेल मैदानबाट सुरु हुदैछ।

प्रतिस्पर्धी टिमहरूको सूची:
API School ,API Challengers,सत्य साई (Sathya Sai) सरस्वती मावि (Saraswati) ,ट्रियोग (Triyog), डिभाइन (Divine),काठमाडौं ईएस (Kathmandu ES),त्रिवेनी (Tribeni),प्यारामाउन्ट एकेडेमी (Paramount Academy) र निम्स (NIMS) स्कुल रहेका छन् ।
यसै बिचटोखा नगरपालिकाको क्रिकेट महोत्सव : खेलमैत्री प्रतिस्पर्धाका नियमहरू सार्वजनिक भएको छ। खेलाडीको जोश, दर्शकको उत्साह र क्रिकेटको मर्मलाई एकैसाथ सम्मान गर्दै, टोखा नगरपालिकाले आयोजना गर्न लागेको क्रिकेट प्रतियोगिता यसपालि अझ व्यवस्थित र अनुशासित हुँदैछ। आयोजक समितिले प्रतियोगिता अघि नै आचारसंहितासहितका सबै आवश्यक नियमहरू सार्वजनिक गरेको छ, जसमा खेलाडीको आचरणदेखि कागजातको प्रमाणिकरणसम्मका विषय समेटिएका छन्।
प्रतियोगिताको ढाँचा
प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाउनेछन्। प्रत्येक खेल १० ओभरको हुनेछ, जसमा १४ जना दर्ता खेलाडीहरूमध्ये ११ जनालाई प्लेइङ-११ मा राख्न सकिनेछ। एकपटक दर्ता भइसकेपछि नयाँ खेलाडी थप गर्न मिल्ने छैन।
खेलाडीको आचरण : मर्यादा र मर्ममा निहित
खेलाडीहरूले क्रिकेटको आत्मा जगेर्ना गर्ने गरी निष्पक्ष खेल खेल्नुपर्नेछ। अम्पायर, खेल अधिकारी वा दर्शकहरूसँग कुनै प्रकारको अभद्र व्यवहार, शारीरिक सम्पर्क वा मौखिक दुव्र्यवहार कदापि स्वीकार्य हुने छैन। अम्पायरको निर्णयलाई विरोध नगरी स्वीकार गर्नु नै खेलको शिष्टाचार हो।
यदि कसैले तीन पटकसम्म चेतावनी पाउँछ भने, एक खेलको लागि स्वतः निलम्बन लाग्नेछ। गम्भीर अनुशासनहीनता भएको खण्डमा निष्कासनसम्मको कारबाही हुनेछ।
खेल नियमहरू : समय र संयोजनमा सजगता
– हरेक पारी १० ओभरको हुनेछ।
– एक बलरले अधिकतम २ ओभर मात्र बलिङ गर्न पाउनेछन्।
– खेल ८५ मिनेटभित्र सम्पन्न गर्नु अनिवार्य हुनेछ।
– कम्तीमा ७ खेलाडी नआएमा टोलीले खेल छोडेको मानिनेछ।
– आयोजकले निर्धारण गरेको पोशाक प्रयोग गर्नु अनिवार्य हुनेछ।
व्यवस्थापन र दर्ता सम्बन्धी आवश्यक कागजातहरू
खेलमा सहभागी हुने प्रत्येक खेलाडीले निम्न कागजातहरू अनिवार्य रूपमा बुझाउनु पर्नेछ:
जन्म दर्ता प्रमाणपत्र
विद्यालयको पछिल्लो नतिजा (मार्कसिट)
BLE वा SEE परीक्षा दिएको प्रमाण
विद्यालयको लेटरहेडमा टिम सूची
व्यक्तिगत परिचयपत्र (ID कार्ड)
आवश्यक प्रशासनिक प्रक्रिया
– कप्तानले खेल सुरु हुनु ३० मिनेटअघि टिम सिट बुझाउनु पर्नेछ।
– सबै खेलाडीहरूले जोखिम स्वीकृति तथा आचारसंहितामा सहमतिको पत्रमा हस्ताक्षर गर्नु पर्नेछ।
– खेल सकिएपछि स्कोरशीट तुरुन्तै जिम्मेवार अधिकारीलाई बुझाउनु पर्नेछ।
– कुनै विवाद उत्पन्न भएमा प्रतियोगिता समितिको निर्णय अन्तिम हुनेछ।

समर्थकको भूमिका पनि महत्वपूर्ण
टोलीसँगै आउनु भएका समर्थकहरूले पनि अनुशासन कायम राख्नुपर्छ। समर्थकको अनुशासनहीन व्यवहारको असर टोलीमा पर्न सक्छ, जसका लागि टोलीलाई नै कारबाही हुन सक्नेछ।
खेल जित्नु या हार्नुभन्दा पनि अनुशासन, आत्म-सम्मान र खेल भावना प्रमुख हुन्छ। टोखा नगरपालिकाको यो प्रतियोगिता त्यसैको एउटा सुन्दर उदाहरण बन्ने लक्ष्यसहित अघि बढिरहेको छ। नियमहरूको पालना गर्दै रमाइलो र अनुशासित क्रिकेट प्रतियोगिता सफल बनाउने सबैको सहयोग अपेक्षित रहेको आयोजकले बताएको छ।
यो प्रतियोगिता टोखाका युवा विद्यार्थीहरूबीच खेलकुदको माध्यमबाट अनुशासन, सहयोग र सौहार्दको भावना विकास गर्ने आशामा आयोजना गरिएको हो। आगामी दिनहरूमा हुने प्रतिस्पर्धाहरू थप रोमाञ्चक र प्रेरणादायी हुने आयोजक टोलीको विश्वास छ।

