• TOKHA LIVE

    • ३ जेष्ठ २०८२, शुक्रबार २१:१२

    गिनिज बुकदेखि सगरमाथासम्म : टोखाका सजन डंगोलको प्रेरणादायी यात्रा

    – सानुराज डंगोल

    काठमाडौं, २ जेठ

    सपना देख्ने आँखा जोकोहीसँग हुन्छ, तर ती सपनालाई जिन्दगीमा साकार पार्न सक्ने साहस, लगन र धैर्य सबैसँग हुँदैन। टोखा नगरका सजन डंगोलले यिनै तीन गुणको समिश्रण गर्दै आफैंलाई एउटा असल उदाहरणको रूपमा स्थापित गरेका छन्।

    मे १४, २०२५ को बिहान ७:५० बजे, विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर सजनले न केवल आफ्नै नाममा कीर्तिमान थपे, उनले आफ्नो देश, समुदाय र परिवारको शिर पनि उच्च बनाए। उनीसँगै अमेरिकाका माईकल रुडोल्फ गटविन द्वितीय, सौरभ भसीन, र नेपालका पेम्बा शेर्पाले पनि सगरमाथा आरोहण गरे।

    ‘एक्सपेडिसन्स हाई माउन्टेन ट्रेक्स’मार्फत गरिएको यस आरोहणमा पेम्बा ओङ्चु शेर्पा, याल्जे शेर्पा, निग्मा ग्याल्जे शेर्पा, लोप्साङ शेर्पा, छेबी भोटे, र मिङ्मा छिरी शेर्पाजस्ता अनुभवी सहयोगीहरूको साथ रहेको थियो।

    फुटबलको मैदानदेखि विश्व कीर्तिमानसम्म

    फुटबल सँग बाल्यकालदेखि नै गहिरो सम्बन्ध राख्ने सजनले युकेको बर्मिंघम सिटी युनिभर्सिटीमा अध्ययन गर्दागर्दै गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए। १६ फेब्रुअरी २०२४ मा उनले एक घण्टामा दुई एकान्तर खुट्टाबाट ९,२१८ पटक किक गर्दै अद्वितीय कीर्तिमान बनाए। यो कीर्तिमान राखेपछि उनको नाम विश्वभरि गुञ्जियो।

    टोखाको आम परिवारमा जन्मिएर…

    टोखा नगरको एक सामान्य परिवारमा जन्मेका सजनका बुबा मनिराज डंगोल मेहनती ज्यामीबाट समाजसेवी बनेका पात्र हुन्। आमा मोहनमाया डंगोल एक सादगीपूर्ण गृहिणी। सजन त्यही परिवारको दोस्रो सन्तानका रूपमा सानैदेखि फुटबलप्रति समर्पित थिए। स्कुलस्तरमा फुटबलमा देखिएको चमकले उनलाई पछि विभिन्न राष्ट्रिय लिगहरू हुँदै सगरमाथाको चुचुरोसम्म पुर्‍यायो।

    फुटबल यात्राको गौरव

    सजनले फ्रेन्ड्स क्लब, भगवती क्लब, ब्रिगेड ब्वाइज क्लब हुँदै मनाङ मर्स्याङ्दी र कुपण्डोल क्लबबाट देश-विदेशमा फुटबल खेले। उनी ‘म्यान अफ द म्याच’, ‘बेस्ट मिडफिल्डर’, ‘सर्वाधिक गोलकर्ता’जस्ता थुप्रै उपाधिका धनी छन्। टोखा भ्याली रनिङ्ग शिल्ड, उत्तर भेगीय प्रतियोगिता, सिक्किम टूर्नामेन्टदेखि बीबीए कपसम्म उनले गरेको प्रदर्शन अतुलनीय रह्यो।

    सफलताको पछाडि परिवार

    २०७५ सालमा सीता श्रेष्ठसँग विवाह गरेका सजन अहिले तीन वर्षीय छोरीसहित परिवारसँग रमाइरहेका छन्। उनी सधैं आफ्नो सफलताको श्रेय आमाबुवा, जीवनसाथी, गुरुजन, साथीहरू, क्लब र टोखा नगरलाई दिन्छन्। सामाजिक सञ्जालमा उनलाई दिइएका बधाईहरूले प्रमाणित गर्छ– सजन सबैका प्रिय हुन्।

    गर्व र प्रेरणाको स्रोत

    सजन डंगोल अहिले केवल टोखाको मात्र नभई सम्पूर्ण नेपालका युवाहरूका लागि प्रेरणाका पात्र बनेका छन्। साधारण परिवेशबाट असाधारण सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

    सजन भन्छन् – “कहिले काहीँ सपना पुरा गर्न हिमाल चढ्नैपर्छ। अनि थाहा हुन्छ, जहाँ इच्छा हुन्छ त्यहाँ बाटो आफैं बन्न थाल्छ।”

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै