भक्तपुर,जेठ १/ उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरको आयोजनामा तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा एक महिनासम्म सञ्चालन भएको अतिथि सत्कार तालिम बुधबार समापन भएको छ। समापन कार्यक्रम कार्यालय प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि कुस्माले सीपविहीन युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकार अन्तर्गतका विभिन्न तालिम सञ्चालन भइरहेको उल्लेख गर्दै, “सिर्फ तालिमको लागि तालिम नहोस्, सिकेको कुरा व्यवहारमा उतार्न सक्नुपर्छ,” भन्दै सिकाइलाई उद्यममा रुपान्तरण गर्न प्रशिक्षार्थीहरूलाई प्रेरित गर्नुभयो। उहाँले थप तालिम आवश्यक परे कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गर्नुभयो।
त्यस्तै, गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले तालिममार्फत घरघरमै फेमिली स्टेको अवधारणा लागू गर्दै, भक्तपुर घुम्न आउने पर्यटकलाई रैथाने उत्पादन, खाना र घरबासको अनुभव दिन सकिने बताए। “अतिथि सत्कार अब केवल होटलमा सिमित नरहोस्, घरमै पनि अवसर निर्माण गरौं,” उहाँको भनाइ थियो।
भक्तपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष रामसुन्दर भेलेले अतिथि सत्कारको सांस्कृतिक महत्वबारे चर्चा गर्नुभयो। प्रशिक्षक रबिता बासुकलाले एक महिनासम्म प्रशिक्षण लिएका सहभागीहरू निकै लगनशील रहेको भन्दै खुसी व्यक्त गर्नुभयो। प्रशिक्षार्थीहरू रमा श्रेष्ठ र विना सुकुभटुले तालिमले आफूहरूको व्यक्तिगत जीवनमा समेत परिवर्तन ल्याएको बताए।
कार्यक्रमका सभापति तथा संघ अध्यक्ष श्यामसुन्दर श्रेष्ठले उद्योग तथा बाणिज्य कार्यालयसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै, “भविष्यमा पनि यस्तै कार्यक्रममार्फत समुदायलाई सशक्त बनाउने काम निरन्तर हुनेछ,” भन्नुभयो। साथै, उद्योग दर्ता वा नविकरणमा समस्या आए संघले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा, कार्यालयका लक्ष्मीप्रसाद कासुला, पर्यटन व्यवसायी सुरेन्द्रमान बिजुक्छे तथा महिला उद्यमी समितिकी अध्यक्ष कमलश्वरी खर्बुजालगायतले पनि तालिमको महत्वबारे धारणा राखेका थिए।

