टोखा, वैशाख ३१ / टोखा नगरपालिकाले आफ्नै आधिकारिक पत्रिका ‘टोखा नगर’ को भव्य सुरुवात गर्दै आज एक समारोहका बिच बिमोचन गरेको छ। टाेखा वडा नं. ३ को कार्यालय भवनको सभाहलमा आयोजित विशेष कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पत्रिकाको सामूहिक विमोचन गर्नुभयो ।

कार्यक्रमकाे अवसरमा बोल्दै टाेखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले ‘टाेखा नगर मासिक’लाई टाेखाको विकास यात्रा, परिवर्तन र सम्भावनाको ऐना हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गहभरिएका शब्दमा भन्नुभयो, “यो केवल पत्रिका होइन, यो हाम्रो नगरको चेतनाको दस्तावेज हो। विकासका उज्याला पक्ष मात्र होइन, जहाँ जहाँ कमजोरी छन्, तिनलाई देखाएर सुधारतर्फ डो-याउने मार्गदर्शक बन्नेछ।”उहाँको भनाइमा प्रतिबद्धता मात्र होइन, टाेखाको भावी यात्राप्रतिको एक दृढ संकल्प झल्किन्थ्यो — जहाँ समृद्धि र पारदर्शिता सँगसँगै अघि बढ्ने छन्।
प्रशासनिक अधिकृत शेर बहादुर बिसीले टाेखा नगर आफैंमा एक ऐतिहासिक नाम भएकाले यसको मौलिकता र पहिचानलाई भावी पुस्तासम्म जोगाइराख्न दस्तावेजीकरण अत्यावश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो मासिक प्रकाशनले टाेखाको इतिहास, संस्कृति, धर्म, पर्यटन र जीवनशैलीलाई समेट्दै नगरको सम्पूर्ण पक्ष उजागर गर्नेछ। यसले नगरपालिकाका गतिविधिहरुलाई समेत संकल्पका रूपमा प्रस्तुत गर्ने विश्वास लिएको छ।”
बिसीका अनुसार ‘टाेखा नगर मासिक’ न केवल सूचना सम्प्रेषणको माध्यम हुनेछ, यो टाेखालीको भावना, गौरव र परिचय बोकेको दस्तावेज बन्नेछ। “टाेखा केवल भौगोलिक क्षेत्र होइन, यो हाम्रो अस्तित्व र इतिहास हो,” उहाँले थप्नुभयो।

पत्रिकाका प्रबन्ध निर्देशक बाबुलाल डंगौलले सम्पूर्ण सम्पादक मण्डलको साझा मेहनतले पत्रिका सम्भव भएको उल्लेख गर्दै भावुक रूपमा भने, “यो त सुरूवात हो। टिकाउनका लागि सबैको लगन, माया र समर्थन आवश्यक छ।”
वडा अध्यक्ष रमेश डंगौलले शुभकामना व्यक्त गर्दै पत्रिकाले वडास्तरदेखि नगरस्तरसम्मका गतिविधि उजागर गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै,शुभकामना मन्तव्य वक्ताहरू वडा अध्यक्ष द्वय मचाकाजी महर्जन , रामभक्त घिमिरे , स्थानीय नेता अष्ट कुमार श्रेष्ठ, सुसनलाल श्रेष्ठ र सुर्यमान डंगोल , नेवा: गूठी टाेखाका अध्यक्ष रमेश नापित, संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ लगायतले पत्रिकाले टोखाको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई उजागर गर्ने विश्वास व्यक्त गर्दै यसलाई ऐतिहासिक दस्तावेजको रूपमा विकास गर्न सुझाव संगै शुभकामना दिए।।
राजनीतिकर्मी गजराज श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा विशेष अतिथी तारा प्रसाद निरौला (टोखा न.पा. आर्थिक प्रशासन शाखा प्रमुख), टाेखा वडा ३ का सदस्यत्रय हरिकृष्ण श्रेष्ठ, शान्ता राई र देविमाया नेपाली ,
पत्रकार कुसलभ केसी, सस्मिता पाठक, सम्पादक हिक्मत डंगोल, सुविन्द्र श्रेष्ठ, सानुराज डंगोल, टाेखा नगर प्रहरीसहित वडा नं. १ देखि ११ का वडाध्यक्षहरूको उपस्थिति थियो।
‘टोखा नगर’ पत्रिका टोखाको पहिचान, इतिहास, संस्कृति, विकास र जनताको आवाजलाई समेट्दै स्थानीय पत्रकारिता र अभिलेखीकरणतर्फको ऐतिहासिक पाइला सावित हुने अपेक्षा गरिएको छ।

