काठमाडौं, बैशाख २९ / जीवनको प्रारम्भदेखि अन्त्यसम्म, दुःखसुखका हरेक मोडमा साथ दिने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले “कोखदेखि शोकसम्म” नामक नीति लागू गरेको छ। नगरपालिकाको १६ औं हिउँदे नगरसभाबाट पारित यो नीति अब व्यावहारिक कार्यान्वयनमा पुगेको छ। जसले नगरवासीको जीवनयात्रामा सम्मान, अपनत्व र सहाराको अनुभूति दिलाउँदैछ।
नगरपालिकाले घोषणा गरेअनुसार, अब नगरभित्र जन्मिने प्रत्येक शिशुका परिवारलाई रु. ५,००० प्रदान गरिनेछ। त्यस्तै, ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरूप रु. २,००० दिइनेछ। जीवनको अन्तिम मोडमा पुगेकाहरूको परिवारलाई भने शोकको समयमा मल्हमपट्टी लगाउँदै रु. १०,००० उपलब्ध गराइनेछ। यो योजना २०८२ बैशाखदेखि लागू गरिएको हो।
नगर प्रमुख कृष्ण हरि महर्जन आफैं शोक सन्तप्त परिवारहरूको घरमै पुगेर सहानुभूति प्रकट गर्दै सहयोग रकम हस्तान्तरण गरिरहेका छन्।

वडा नं. ३ निवासी त्रिरत्न मानन्धरकी पत्नी सीता मानन्धरको निधनपछि, नगर प्रमुख महर्जनले सोही कार्यक्रम अन्तर्गत रु. १०,००० राहत हस्तान्तरण गरे। त्यस्तै, जितपुरफेदीका जयराम देवकोटाको निधनमा पनि उनका परिवारलाई राहत दिइयो। साथै वडा नं. ६ का बाबुराजा कार्कीको निधनमा शोक सन्देशसहित परिवारलाई घरमै पुगेर सहयोग रकम प्रदान गरियो।

नगर प्रमुख महर्जन भन्छन्, “शोकको बेला शब्द मात्र पर्याप्त हुँदैन। उपस्थितिसँगै समवेदना र साथ आवश्यक हुन्छ। ‘कोखदेखि शोकसम्म’ योजना त्यसैको प्रतिबिम्ब हो।”

‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढिरहेको तारकेश्वर नगरपालिकाको यो पहल केवल नीति होइन ,समुदायप्रतिको समर्पणको प्रतिक हो।

