काठमाडौं, २५ बैशाख –
टाेखाको ऐतिहासिक र सांस्कृतिक गुठी परम्परा जोगाउन तथा धार्मिक गतिविधिको निरन्तरताका लागि सपनतिर्थ क्षेत्र विकास समितिद्वारा आयोजित ‘आर्थिक कोष हस्तान्तरण कार्यक्रम–२०८२’ आज सम्पन्न भएको छ।
टोखा नगरपालिका–२ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा समितिका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, तोखा क्षेत्रका परम्परागत गुठीहरूलाई सहयोगस्वरूप आर्थिक कोष प्रदान गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य भनेको श्री सपनातिर्थ विनायक लगायत तोखाका पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षण गर्दै, पूजा, पर्व, जात्रा तथा अन्य सामाजिक कार्यहरूलाई निरन्तरता दिनु रहेको छ।
टाेखाको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहलस्वरूप आयोजित आर्थिक कोष हस्तान्तरण कार्यक्रमका सन्दर्भमा बोल्दै सांस्कृतिक दृष्टिले महान सोच भएका टाेखाका प्रतिष्ठित व्यक्तित्व तथा सपनातिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलले टाेखामा परापूर्वकालदेखि सञ्चालनमा रहेका ‘तोलं गुथि’, ‘द्यः गुथि’, ‘इला गुथि’ लगायत थुप्रै गुथिहरूलाई हाम्रा पुर्खाहरूले अद्वितीय योगदान र निष्ठाका साथ जोगाउँदै ल्याएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो—“बाबुबराजुहरूले यी गुथिहरू मास्नु हुँदैन, संरक्षण गर्नु पर्छ भनेर स्वविवेक प्रयोग गर्दै कतिपयले त आफ्नै जग्गासमेत दान गरेर गुथिहरूलाई जगेर्ना दिएका थिए।”
तर आज सामाजिक विकृति, सरकारी नीतिमा देखिएका कमजोरीहरू तथा आधुनिकताको चपेटामा परेर यस्ता मौलिक गुथि, पर्व र परम्परा हराउँदै गइरहेका छन् भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो। यसै सन्दर्भमा, सपनातिर्थ क्षेत्र विकास समितिले गुथिहरूको संरक्षण, धार्मिक गतिविधिको निरन्तरता र सांस्कृतिक जरा बलियो बनाउने अभिप्रायले विभिन्न स्रोतबाट संकलित आर्थिक सहयोग रकम गुथिहरूलाई हस्तान्तरण गर्ने निर्णयअनुसार यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष देवराज डंगोलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तोखा नगरपालिकाको वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रमाण पत्र सहित ३ वटा गूठी ‘तोलं गुथि’ लाई रु एक लाख , ‘द्यः गुथि’ लाई रु एक लाख र ‘इला गुथि’ लाई रु पचास हजार बराबरको रकम सहयोग प्रदान गरिएको छ। समितिका अनुसार, यो रकम गूठीको नियमित पूजा, जात्राहरूको आयोजना तथा धार्मिक क्रियाकलापमा खर्च गरिनेछ।

टाेखामा रहेका विभिन्न गुठीहरू — जस्तै तोलाङ गुठी, इलाँ गुठी, र द्य: गुठीहरुले परम्परागत चलन अनुसार संस्कार, चाडपर्व, र सामाजिक उत्तरदायित्वहरू निर्वाह गर्दै आएका छन्। गुठीहरूले जस्तै विसर्जन, सामूहिक भोज, तथा पुजापाठका कार्यहरूमा समर्पित योगदान दिँदै आएका छन्।तर हालका दिनहरूमा गुठी परम्परामा क्रमशः गिरावट आएको छ, जसमा युवाहरूको सहभागिता कम देखिएको छ। गुठीहरू आर्थिक रूपमा पनि कमजोर हुँदै गइरहेका छन्। यसलाई पुनः सक्रिय बनाउन समितिले छलफल, सल्लाह, तथा सहकार्यमा आधारित रहेर सो योजना बनाउने अठोट लिएको हो।

कार्यक्रममा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गुठी परम्पराको संरक्षणका लागि समुदायबाट सुरु गरिएको यस्तो अभियानले भविष्यमा सांस्कृतिक जागरणको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्तामा पनि मौलिक संस्कार र चाडपर्वप्रति गर्वबोध जागृत हुने अपेक्षा राख्नुभयो।
कार्यक्रममा सपनतिर्थ क्षेत्र विकास समितिका सचिब हेरकाजी डंगोलले कार्यक्रम संचालन गर्नुहुदै गुठी प्रणालीको सशक्तीकरण, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण, र नयाँ पुस्तालाई यसको मूल्यबारे शिक्षित गराउने योजनाहरूका साथ यो ऐतिहासिक कदम अगाडि सारिएको बताए ।
कार्यक्रममा नेवा गूठी टाेखाका अध्यक्ष रमेश नापितले मौलिक पर्व र परम्परालाई बचाउने उद्देश्यले गरिएको यो पहलले तोखाको सांस्कृतिक पुनर्जीवनमा एउटा बलियो ईटा थपेको बताउनुभयो ।

कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले हराउँदै गइरहेका मौलिक पर्व र परम्परालाई बचाउने उद्देश्यले गरिएको यो पहलले तोखाको सांस्कृतिक पुनर्जीवनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस प्रकारको धार्मिक तथा सांस्कृतिक सचेतनाले तोखा क्षेत्रको मौलिक पहिचानलाई अझ बलियो र प्रगाढ बनाउने अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न गूठीका महानुभावहरु, संस्कृतिकर्मीहरु लगायत श्रीमदभागवत प्रचारप्रसार टाेखा उपसमितिका भजन खलका पदाधिकारीहरुको उपस्थित थियो ।

