काठमाडौं २२ बैशाख/ “कला, संस्कृतियुक्त, स्वच्छ र समुन्नत टोखा नगर” भन्ने नाराका साथ टोखा नगरपालिका वडा नं. ३ ले दोस्रो चरणको कर अभियान सुरु गरेको छ।
“टोखाको विकास र समृद्धिको आधार: दिगो र फराकिलो स्थानीय कराधार” भन्ने मूल नारासहित सञ्चालन हुने यस अभियान अन्तर्गत, बैशाख १५ गतेदेखि जेष्ठ मसान्तसम्म नगरवासीहरूलाई घरदैलोमै कर सम्बन्धी जानकारी प्रदान गरिनेछ। यस अभियानमा सम्पत्ति कर, मालपोत कर, बहाल कर, व्यवसाय दर्ता, नविकरण तथा अभिलेखिकरण सम्बन्धी जानकारी समेटिएको छ।
टोखा वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोलका अनुसार, “कर अभियान टोली तपाईहरूको घर आँगनसम्म पुग्नेछ, कृपया यस अभियानलाई सफल बनाउन सबै वडावासी, संघसंस्था, महिला समूह, टोल विकास समिति, सहकारी संस्था, व्यापारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायत सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक छ।”
स्थानीय तहमा कर सम्बन्धी सचेतना र सहभागिता बढाउने उद्देश्यले टाेखा नगरपालिकाले सञ्चालन गरिएको यस अभियानले नगरको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


